होमपेज / राजनीति
काठमाडाैँ। प्रधानमन्त्रीलाई नैतिक हुन आग्रह गर्दै संसदमा प्रतिनिधित्व गर्ने अधिकांस दलले राजीनामा दिएर संसदीय प्रक्रियामा प्रवेश गर्न माग गरेका छन् ।
ताजा जनादेश राजनीतिक निकासको माध्यम भन्दै प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीको बुझाइ गलत सावित भइसकेकाले उनले नैतिक रुपमा राजीनामा दिएर संसदलाई निकासको बाटो खोलिदिनुपर्ने संसदमा प्रतिनिधित्व गर्ने दलहरुको निष्कर्ष छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दैन ? भन्दै प्रश्न उठाएको छ । उसले प्रधानमन्त्री राजनीतिक रुपमै फेल भइसकेको र संविधान कार्यान्वयन गर्नुपर्नेमा एकपछि अर्को संविधान विरोधी कदम उठाएको भन्दै अब संविधान कार्यान्वयका लागि बाटो खोलिदिनुपर्ने उसको सुझाव थियो ।
“सरकारले असंवैधानिकरुपमा विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएको छ । यसको कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै वडातहसम्म पुगेर देशव्यापी विरोध गरेको थियो,” कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, “सर्वोच्चको संवैधानिक इजलासबाट असंवैधानिक कदम खारेज गर्दै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । अब सरकारले आफ्नो गलत कदमको नैतिक जिम्मा लिनुपर्छ ।”
कांग्रेसले न्यायपालिकाले नै प्रधानमन्त्रीको असंवैधानिक कदम गलत थियो भनेपछि प्रधानमन्त्रीले अदालतको सम्मान र राजनीतिक नैतिकताका लागि राजीनामा दिनुपर्ने उसको बुझाई छ ।