होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले पार्टीको निर्देशन विपरीत गुटगत भेलामा सहभागी भए कारबाही गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।
बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।बैठकले आत्मालोचनासहित पार्टीको बैठक र कार्यक्रममा सहभागी हुन पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेको उनले बताए । ‘नेपाल समूहलाई आत्मालोचनासहित पार्टीको बैठक र कार्यक्रममा सहभागी हुन बैठकले निर्देशन दिएको छ,’ उनले भने, ‘ गल्ती भयो भन्दै फर्किनेहरूलाई पार्टीले स्थान दिनेछ ।’
बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ । खनाल–नेपाल समूहले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ ।
आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।