होमपेज / राजनीति
काठमाडौं । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको २०७७ चैत ७ गते हुने भनिएको निर्वाचन नहुने पक्कापक्की भएको छ । सदस्यता विवाद समाधानका लागि परामर्श दिन गठित समितिले सदस्यताको टुंगो लगाउन नसक्दा केन्द्र, प्रदेश र शाखाहरुको एकैदिन हुने भनिएको निर्वाचन प्रभावित भएको हो ।
२०७७ फागुन ५ गते राजधानीमा भएको २६ औं महाधिवेशनबाट गठित पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाउँले, पूर्व अध्यक्ष महेन्द्र विष्ट, महासंघका वर्तमान अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट रहेको परामर्श समितिले एक महिना बित्दा समेत सदस्यता विवाद निरुपण गर्न नसकेकाले निर्वाचनको मिति तय हुन नसकेको बताइएको छ ।
समितिकै सदस्यहरु बिच विवाद निम्टारा लगाउन नसक्नुको दोष एक अर्कालाई लगाउन सुरु भएको श्रोत बताउछ । खासगरी पूर्व अध्यक्ष विष्टले निर्वाचन सार्ने नियतले सदस्यता विवाद लम्ब्याएको आरोप लागेको छ भने उनी पक्षले चाहिँ महासंघका अध्यक्ष आचार्यले पदावधि लम्ब्याउन तत्काल चुनाव नचाहेको आरोप लगाउन थालेको छ ।
महासंघको निर्वाचनका लागि गठित पत्रकार कपिल काफ्लेले नेतृत्व गरेको निर्वाचन समितिले निर्वाचनको मिति तोक्ने जिम्मेवारी पाए पनि आजसम्म कुनै निर्णयमा पुग्न नसकेको चर्चा महासंघभित्र छ । यतिमात्र नभएर काफ्लेले केही साथीले निर्वाचन मिति नतोक्न भनेको भनेर पन्छिने गरेको श्रोतले बतायो । यो सबै हुनुमा महासंघमा अब कुन कुन पक्षको गठबन्धन हुने र को को उम्मेदवार हुने भन्ने विषय मुख्य रहेको जानकारहरु बताउँछन् ।
यसअघि प्रेस युनियन र प्रेस सेन्टर बिच गठबन्धन भई केन्द्रीय निर्वाचन भएको थियो । हालैसम्पन्न सामुदायिक रेडियोहरुको संगठन एकोराबको निर्वाचनमा युनियन र प्रेस चौतारी बिच गठबन्धन भएपछि युनियनले कता गठबन्धन गर्छ भन्ने यकिन नहुँदा प्रेस चौतारी र प्रेस सेन्टरवालाहरु अलमलिएको बताइएको छ ।
युनियनले भने अध्यक्ष पदलगायतका पदहरु प्राप्तिका लागि दुबै पक्षसँग वार्ता गर्दा जता बढी लाभ हुन्छ त्यतै गठबन्धन गर्ने रणनीति लिएको युनियनका एक पदाधिकारीले साँघुलाई बताए । प्राप्त जानकारी अनुसार, प्रेस सेन्टरले सचिव र कोषाध्यक्ष पाए गठबन्धन गर्ने सूचना युनियनलाई पठाएको छ । उता प्रेस चौतारीले पनि सार्वजनिक रुपमै युनियनकै नेतृत्वमा अधिकतम लचिलो भनी गठबन्धन गर्ने प्रस्ताव गर्दै आएको छ ।
\तर, युनियनमा भइरहेको गुटबन्दीका कारण युनियन पनि निर्णयमा पुग्न सकेको छैन । खासगरी अध्यक्षमा कसलाई चयन गर्ने भन्नेमा निकै सकस भएको प्रेस युनियन श्रोत बताउछ । महासंघका वर्तमान उपाध्यक्ष विपुल पोखरेल, दिलीप थापा मगर, महासचिव रमेश विष्ट र सचिव रामप्रसाद दाहाल समेत अध्यक्ष ताकिरहेका छन् ।
पोखरेल र विष्ट बढी दौडधुपमा लागेको बताइन्छ । तर, पछिल्लो समय युनियनकै अध्यक्ष बद्री सिग्देल पनि मैदानमा उत्रने गाँइगुई चल्न थालेको छ । उता कांग्रेस उपसभापति विमलेन्द्र निधिको निजी सचिवालयमा कार्यरत रामजी दाहालले पोखरेलले टिकट नपाए आफू व्यावसायिक पत्रकारको प्यानल बनाउन लाग्ने भन्दै अनामनगरतिर हल्ला गर्न थालेका छन् ।
महासंघको चुनाव अब कुन र को संग कसको गठबन्धन बन्ने देखिन्छ त्यही हिसाबले अगाडि बढ्ने बताइएको छ । कतिपयले २०७७ चैत ७ को मितिबाट निर्वाचन प्रकृया सुरु नभए सरकारले महासंघमा तदर्थ समिति गठन गरिदिने खतरा समेत उत्पन्न भएको चर्चा गर्न थालेका छन् । (साँघु साप्ताहिक, २०७७ चैत २ गते)