होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश सांसदले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षसँग मिलेर सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिए पनि औपचारिक निर्णय लिन सकेन। शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा धारणा राख्ने २९ जना सांसदमध्ये सबैले संविधानको रक्षाका लागि दाहाल नेपाल पक्षसँगको सहकार्य कांग्रेसका लागि उपयुक्त हुने सुझाव दिएका थिए।
अधिकांश सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिसभा विघटन गर्ने कार्य प्रतिगामी र संविधानमाथिको आक्रमण भएको बताएका थिए। तर परिस्थिति परिपक्व नभएको भन्दै कांग्रेसले भावी सरकारबारे निर्णय गरेन। तथापि बैठकले भावी सरकार गठनबारे ठोस निर्णय नगरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
उनले भने, ‘साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ? ती सबै कुराहरुलाई गम्भीरपूर्वक समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ।’ सांसदहरुले सुझाव दाहाल नेपाल पक्षसँग मिलेरअघि बढ्न सुझाव दिए पनि नेतृत्व भने पर्ख र हेरकै रणनीतिमा रहेको छ।
बिहीबार बसेको पदाधिकारी बैठक संसदीय दलको बैठक सांसदहरुको धारणा सुनेर निर्णय लिने भन्दै उठेको थियो। तर शुक्रबार संसदीय दलमा सांसदहरुले क्लियर लाइन दिँदा पनि निर्णय गर्न सकेन। बैठकमा संसदीय दलका सदस्यहरुले राखेका धारणाबारे जानकारी दिँदै सांसद प्रकाश स्नेहीले भने, ‘अधिकांश साथीहरुले केपी ओलीको कदम प्रतिगामी भएको बताउनुभयो। उनीसँग मिल्न हुन्न भन्ने नै साझा धारणा बन्यो।’
धेरै सांसदले सरकार गठनबारे जिज्ञासा र धारणा राखेपछि सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले नेकपा विभाजन भइ नसकेकाले हतारिन नहुने र निर्णय छलफल गरेरै लिने प्रतिबद्धता जनाएका थिए। देउवाको भनाइ उद्धृत गर्दै अर्का एक सांसदले भने, ‘हामी छलफल गरेर मात्रै निर्णय गछौँ। वैधानिक रुपमा नेकपा विभाजन भएको छैन। सल्लाह नगरी निर्णय गर्दिन।’
नेकपाका दोस्रा तहका नेताहरु अझै पनि पार्टी एकताका लागि प्रयासरत रहेकाले कांग्रेस औपचारिक निर्णय लिन नसकेको अर्का एक सांसदले देश सञ्चारलाई बताए। उनले भने, ‘नेकपा मिल्ने प्रयास जारी रहेकै अवस्थामा हामीले ठोस निर्णय गर्नुहुन्न। हामीलाई सरकारको नेतृत्व गर्न प्रस्ताव आए पनि उनीहरु मिल्ने बाटो बन्द भएको छैन। दल पनि एउटै छ।’
स्नेहीले आफूले पनि केपी ओलीसँग मिल्ने एजेण्डा सकिएको बताए। उनले भने, ‘मैंले केपी ओलीसँग मिल्ने एजेण्डामा सकिएको छ। उहाँले संविधानलाई धोका दिनुभयो। बिपी गणेशमानलाई अपमान गर्नुभएको छ। माधव प्रचण्डको पनि प्रतिगामी नै हुन्, तर उनीहरुको भूमिका कम छ।’
सांसद देवेन्द्रराज कँडेलले पनि नेकपा विभाजनले औपचारिकता पाइ नसकेकाले निर्णय लिन उपयुक्त नहुने बताए। उनले बैठकमा राखेको धारणाबारे जानकारी दिँदै भने, ‘नेकपाबारे निर्वाचन आयोगको निर्णय आनुपर्यो। नेकपा नै छ। कुन पक्ष कसरी प्रस्तुत हुन्छ त्यसलाई हेरेर निर्णय लिनुपर्छ। हामी पर्ख र हेरकै अवस्थामा छौँ।’
नेकपाका दुवै पक्षले आफ्नो लाइन क्लिएर नगरेसम्म ठोस निर्णय गर्नु प्रत्युपादक हुने उनको भनाइ थियो। ‘अहिले नै हाम फाल्नु हुँदैन। शान्ति प्रक्रियाको नेतृत्व गरेर हामी चुनावमा जाँदा पराजित भएका थियौँ। अहिले पनि सोची विचार गरेर मात्रै निर्णय लिनुपर्छ, कँडेलले भने, ‘आफ्नो नेतृत्वमा सरकार बन्ने अवस्थामा चुनावी प्रतिबद्धता पूरा गर्न तयार हुनुपर्छ।’
कांग्रेस दलले अझै पनि कोरोनालाई देखाएर बन्द गरिएको नाका खोल्न र जनस्तरमा कोरोनाको खोप पुर्याउन सरकारसँग माग गरेको छ।