होमपेज / राजनीति
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् ।
लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताए ।“शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु”, उनले भने।
‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतविपरीत जाँदैन र जान दिँदैन,’ उनले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ, अपराधलाई नियन्त्रण गर्छ । ’जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।