होमपेज / राजनीति
बिराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने चेतावनी दिनुभएको छ । प्रचण्ड र माधव समुहमा लागेको सांसदहरुले जवर्जस्ती गरे प्रदेशसभा नै भंग हुने अवस्था आउने चेतावनी मुख्यमन्त्री राइले दिनुभएको हो ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अबैधानिक रुपमा आफूलाई कू गर्ने योजना बिफल बनाउन प्रतिनिधिसभा भंग गरेपछि अलग्गै समुह बनाएर हिडनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल पक्षधर प्रदेशसभा सदस्यले दर्ता गरेको अबिश्वास प्रस्ताव फिर्ता वा खारेजी नभए प्रदेससभा नै भंग हुने अवस्था आउने मुख्यमन्त्री राइको भनाई छ ।
प्रचण्ड-माधव समुह नसच्चिए प्रदेशसभा नै भंग हुनसक्ने उहाँको भनाई छ । ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह)को रबैयाका कारण प्रदेससभा नै भंग हुने अवस्थामा नपुग्ला भन्न सकिन्न,’ मुख्यमन्त्री राईले भन्नुभयो ।उहाँले आफू विघटनको पक्षमा नरहेको तर त्यस्तो बाध्यता आइलाग्न लागेको बताउनु भयो ।
‘मैले अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यसअघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था थियो । तर म बिवघटनको पक्षमा छैन,’ मुख्यमन्त्री राईले भन्नुभयो ।
‘हामीले बैधानिक प्रश्न उठाएका हौं । यसको निरुपण कहीँ न कहीँ हुनपर्यो, या त गल्ती रियलाइज गर्नुपर्यो या सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्नुपर्यो,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले प्रतिपक्षी कांग्रेसले पोजिसन क्लियर नगरेसम्म प्रदेससभा बैठक सञ्चालन हुन नसक्ने तथ्य पनि औल्याउनु भएको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री राईलाई नै समर्थन गरिसकेका छन । प्रतिपक्षी कांग्रेसले प्रस्तावको पक्ष वा विपक्षमा निर्णय गरेको छैन । कांग्रेसले निर्णय नगरेसम्म बैठक सञ्चालन गर्न नहुने राईले प्रष्ट पार्नुभयो ।