होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गर्ने भएको छ। आज बसेको पार्टी पदाधिकारीको बैठकले देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीको पुस ५ गतेको जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध जारी जनसंघर्षलाई निरन्तरता दिँदै आन्दोलन कार्यक्रम जारी गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक विज्ञप्ति जारी गर्दै बताए।
जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर/उपमहानगरनगर/गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा र काठमाडौंको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन तथा विरोधसभा गर्ने कार्यक्रम तय भएको बताएका छन्।