होमपेज / राजनीति
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका सार्वजनिक नगर्दा आशंका उत्पन्न भएको बताएका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ ।
भैरहवा विरोधसभामा सभापति देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए ।
‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’ देउवाले भने। निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने तयारी बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’
भैरहवामा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने ओली र प्रचण्डबीच कुर्सीका लागि मात्र लडाइँ भइरहेको छ। ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो। तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।
साथै उनले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गरेका छन् । कांग्रेस सभापति देउवाले अघि भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन रु चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ?’
‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन।’ उनले भने।