होमपेज / राजनीति
काठमाडाैँ। नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन गर्दैछ ।
बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ। त्यसको पूर्वसन्ध्यामा हिजो स्वयंसेवकले मार्चपास गरेका छन्। आजको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। भृकुटीमण्डपमा हुने विरोधसभामा दुई लाखभन्दा बढी मानिस उपस्थित हुने नेकपा प्रचण्ड–नेपाल समूहको दावी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड-नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।
सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुनेछ । प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भएको छ।ट्राफिक प्रहरी महाशाखाले र्याली, जुलुस र आमसभा हुने स्थानको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।