होमपेज / राजनीति
काठमाडौँ– आज काठमाडौँमा भएको सभा कास्टिङमात्र भएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताए ।
फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए। आज काठमाडौं दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले काठमाडौं बाहिर पनि सभा हुने बताएका हुन्।
प्रधानमन्त्री ओलीले क्रान्तिकारी पार्टी हुनका लागि आफूले गरेका कामको जिम्मेवारी लिनु पर्ने पनि बताएका छन्। उनले भने, ‘बाटोबाटोमा बम राख्ने आफूले गरेको हैन भन्ने ?, आफूलेगरेको कामको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारी हुँ भन्ने ? आफूले गरेको कामको जिम्मा लिनु नि । भ्रम फैलाउने काम धेरै भयो। अब जनताको सागर उर्लियो भने त्यो भेललाई कसैले थेक्न सक्दैन।’
सर्वहाराको पार्टी हुनका लागि गरिबको दुःख बझ्ने हुनुपर्ने बताएका छन। ओलीले बन्दका क्रममा भएको क्षेति सरकारले बेहोर्ने समेत बताए। ‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए।