होमपेज / राजनीति
काठमाडौँ । नेकपा ओली समूहले शुक्रबार मध्यान्न आयोजना गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गर्ने भएका छन्। यस्तै नेता सत्यनारायण मण्डल पनि वक्ताका रुपमा रहने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मुख्य वक्ताका रुपमा प्रधानमन्त्री ओली रहेका छन् भने पोखरेल, बादल र मण्डललाई वक्ताका रुपमा राखिएको छ। मध्यान्न १२ बजे नारायणहिटी संग्रहालयअगाडि सभा सुरु हुने छ। प्रधानमन्त्रीले आजको सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनीपक्षीय नेताहरुले गर्दै आएका छन्।
पत्रकारसम्मेलन गरेरै ओलीले अहिलेसम्म नबोलेको कुरा आजको सभामा बोल्ने दाबी ओली समूहका नेताहरुले गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले ‘ओलीले हिन्दु राष्ट्र बनाउने घोषणा गर्न सक्छन्’ भनी भाषण गरेका थिए।प्रतिनिधिसभा विघटन भएपछि नेकपाको (प्रचण्ड–नेपाल) समूहले चरणवद्ध आन्दोलन गरिरहेको छ। त्यसक्रममा काठमाडौँमा बृहतसभा गरिएको थियो।
त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले पनि काठमाडौँमै जनसभा गर्न लागेको हो। ओली समूहका नेताहरुले प्रचण्ड–नेपाल समूको जनसभालाई कटाक्ष गर्दै वास्तविक जनसभा माघ २३ (आज) मा देखाउने बताएका थिए। आजको सभाका लागि विभिन्न जिल्लाबाट हजारौँ मानिसहरुलाई काठमाडौँ उतार्ने तयारी ओली समूहको छ। तराईँका हरेक जिल्लाबाट कम्तीमा १० हजार मानिस काठमाडौँ ल्याउने तयारी भइरहेको श्रोतको दाबी छ।