होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहने दाबी गरेका छन्। बिहीबार कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा दाबी गरे।
उनले भने,’ मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छ।’ यसका साथै उनले हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए।
उनले भने, ‘ एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफैँ उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री ओलीले फरक प्रसँगमा बोल्दै मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो।
नेपाल विद्युत् प्राधिकरणको २२०-१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०-१३२-३३ केभीको दाना सबस्टेशनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए।