होमपेज / राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अझै पनि बहस जारी छ। ८ पुसदेखि शुरू भएको बहसमा १८ माघमा रिट निवेदक पक्षका वकीलले आफ्नो बहस सकेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा समेत रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्। सर्वोच्च अदालतमा परेका निवेदनहरूमाथि पहिलोपटक ८ पुसमा प्रधानन्यायाधीश जबराको एकल इजलासले सुनुवाइ गरेको थियो। पहिलो इजलासले यी विवादको बाँकी सुनुवाइ संवैधानिक इजलासमा गर्ने आदेश दिएको थियो।
हिजो निवेदकतर्फका कानून व्यवसायीको बहस सकिएपछि आजदेखि सरकारी पक्षले बहस गर्नेछ। सरकारका प्रमुख कानूनी सल्लाहकार महान्यायधिवक्ता अग्नि खरेलले सरकारी पक्षका वकीलहरूको नेतृत्व गर्नेछन्। उनको नेतृत्वमा ११ जना सरकारी वकीलले प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने प्रधानमन्त्री ओलीको निर्णयको प्रतिरक्षा गर्नेछन्। साथै वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, बालकृष्ण न्यौपाने, माधव बस्नेत, रमेश बडाल, सुरेन्द्र भण्डारीलगायतले पनि प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्नेछन्। सभामुख अग्निप्रसाद सापकोटाले भने आफ्नोतर्फबाट छुट्टै कानुन व्यवसायी नियुक्त गरेका छन्।