होमपेज / राजनीति
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनहरुको सुनुवाइ मंगलबार नौ दिन पनि जारी रह्यो। पुनःस्थापनाको माग गर्दै परेका १३ वटा रिट निवेदनहरुको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ। संवैधानिक इजलासमा सुनुवाइ लम्बिदै जाँदा बहस पट्यार लाग्दो हुन थालेको छ। एउटै तर्क, तथ्य र सिद्धान्तलाई वकिलहरुले बारम्बार दोहोर्याउँदा बहस निरस र पट्यार लाग्दो हुँदै गएको हो।
अहिलेसम्म बहस गरेका ४० जनाभन्दा बढी वकिलमध्ये केहीले मात्रै फरक ढंगले इजलासमा प्रस्तुत भए भने अधिकांश अधिवक्ताहरुले अघिल्लाले भनेकै कुरालाई दोहोर्याएर फर्किए। यसका कारण इजलासमा बस्ने न्यायाधीश, नियमति सुन्नेहरुमा बहसप्रतिको आकर्षण कम हुँदै गएको छ।
निवेदकका तर्फबाट बहस गर्न पुगेका नाम चलेका वरिष्ठ अधिवक्ताहरुले समेत पेश भइसकेका तर्क, तथ्य र सिद्धान्तलाई दोहोर्याउन थालेका छन्। एउटै व्यक्तिको बहसमा समेत बारम्बर भावनात्मक कुरा दोहोरिने र राजनीति मिश्रित अभिव्यक्ति इजलासमा प्रस्तुत हुन थालेका छन्।
यसका कारण सोमबार र मंगलबार न्यायाधीशहरुले प्रसंग दोहोरिनेबित्तिकै वकिलहरुलाई ‘यो त आइसक्यो, नयाँ कुरा भन्नुहोस्’ भन्दै अघि बढ्न निर्देशन दिए। दुई दिन इजलासको समय लिएका वरिष्ठ अधिवक्ता शम्भु थापाको प्रस्तुतिमा समेत बारम्बार एउटै कुरा दोहोरिएको थियो।
दुरगामी महत्वका विषय भएकोले निरन्तर बहस सुनेका एक अधिवक्ताले देश सञ्चारसँग भने, ‘बहसमा चार्म कम हुँदै गएको छ। वरिष्ठ अधिवक्ता शम्भु थापाको समेत अपेक्षाकृत हुन सकेन। उहाँले कानुनी र संवैधानिक पाटोलाई भन्दा राजनीतिक भाषण पाराको बहस गर्नुभयो।’ थापाले सोमबार खाजाभन्दा थोरै समय अघिदेखि मंगलबार खाजा समयसम्मको समय लिएका थिए। थापाले बहस गरिरहेकै बेला न्यायाधीशहरुले बहसको गुणस्तरबारे पनि प्रश्न उठाए।
उनले निरुपण भइसकेको संवैधानिक वा बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने अप्रासंगिक कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ९/११ जना न्यायाधीश बसेर सुनुवाइ गर्ने भौतिक संरचना नभएको जवाफ दिए। उनले भने, ‘हुन त हुन्थ्यो नि। तर ९/११ जना न्यायाधीश कहाँ बस्ने, पूर्वाधार छैन। कि पालमा जानुपर्यो हा.हा.हा.।’
राणापछि न्यायाधीश अनिलकुमार सिन्हाले ठ्ट्यौली पारामा भने, ‘यस्तै यस्तै काम गर्न प्रधानमन्त्रीले दुई तिहाई बहुमत माग्नु भएको होला नि, संविधान संशोधन गर्न।’ थापा आफैँले बहस लामो भएर पट्यार लाग्दो भएको प्रसंग त्यही मेसोमा कोट्याए। एउटै कुरो दोहोर्याइ, तेहेर्याइ भनेपछि पटकपटक बहस सक्न आग्रह गरे पनि ‘अब सकेँ श्रीमान, यो अन्तिम कुरा, भन्नै लागेँ, यो चाहिँ कुरा नभनी हुँदैन’ भनेर इजलासमा उभिरहेका थापाप्रति प्रधानन्यायाधीश राणाले व्यंग्य गरे।
राणाले हाँस्दै भने, ‘बहस सुन्दा सुन्दा पट्यार हामीलाई त होइन। तपाईंहरुलाई चाहिँ लाग्यो कि?’
राणापछि न्यायाधीश सिन्हाले अलि गम्भीर हुँदै समय र बहस व्यवस्थापन गर्न निवेदकहरुलाई सुझाए। उनले भने, ‘अब त निवेदकहरुले नै यति घण्टामा सक्छौँ भन्नुपर्ने अवस्था आयो। धेरै नलम्ब्याउँ कि।’ थापापछि बहस गर्न पुगेका अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि इजलास र श्रोताले अपेक्षा गरेअनुसार प्रस्तुत हुन सकेनन्। उनले पनि अघिल्ला अधिवक्ताहरुले नै भनेका कुरा दोहोर्याउन थाले।
बेलायतमा समेत २०११ पछि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीबाट कटौती गरिएकाले त्यसपछि बनेको नेपालको संविधान, श्रीलंकाको सर्वोच्च अदालतबाट भएको व्याख्या जस्ता पुरानै प्रसंग दोहोर्याए। महतोले सबै वकिलले भन्ने ‘धारा ७६(५) बाहेक अरु अवस्थामा बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार नै छैन’ भन्ने चर्चा गरे जुन कुरा दजनौंपटक पेश भइसकेको छ।
अब चुनावमा गएर प्रधानमन्त्री ओलीले भने जस्तो दुई तिहाइ आएन भने फेरि विघटन गरेर अर्को चुनावमा जाने अवस्था आउन सक्ने भन्दै काल्पनिक तर्क गरे। न्यायाधीश सिन्हाले उनलाई रोक्दै भने, ‘यस्तो हाइपोथेटिकल विषयमा किन प्रवेश गर्नु? समयको बर्बाद नगरौं।’
महतोपछि इजलास पुगेका नेपाल बारका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको प्रस्तुति पनि उस्तै रह्यो। केही मिनेट अन्तिम विकल्पसम्म सरकार गठनको प्रयास हुनुपर्ने, विघटनको अधिकार प्रधानमन्त्रीलाई हुँदै नभएको, धारा १०० र ७६ लाई एकसाथ हेर्नुपर्ने जस्ता जिकिर गरे।
त्यसपछि उनी संविधानका धारा र प्रधानमन्त्रीको लिखित जवाफ एकोहोरो पढेर सुनाउन थाले। इजलासमा न्यायाधीश सिन्हाले ‘यी कुरा त हामीलाई कण्ठै भइसक्यो पढ्नु पर्दैन अरु कुरा भन्नुहोस्’ भन्दै रोक्न खोजे। तर केसी रोकिएनन्। उनले आफ्नै सुरमा प्रधानमन्त्रीको लिखित जवाफ पढ्न नछाडेपछि प्रधानन्यायाधीश राणाले ‘ल आजलाई यति गरौँ’ भनेर इजलास बन्द भएको घोषणा गरे।
इजलासमा उपस्थितहरु उठेर ढोकामा पुगिसक्दा समेत केसी आफ्नो सुरमा पढेको पढ्यै थिए। अघिल्ला दिन ४ बजेसम्म सुनुवाइ हुने गरे पनि मंगलबार ३ः३० को आसपासमै इजलास उठ्यो। निवेदकका तर्फबाट सुरुमा बहस गरेका अधिवक्ताहरु भीमाजुर्न आचार्य, दीनमणि पोखरेल, सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश आर्याल, निवेदक समृत खरेललगायतको बहस विषय केन्द्रित र चाख लाग्दो थियो।