ट्रेण्डिङ

होमपेज / राजनीति

जनताको साथ लिएर देश बनाउँछु : प्रधानमन्त्री केपी शर्मा ओली

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १९:३३:१२ मा प्रकाशित

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताको साथ लिएर देश बनाउने दावी गरेका छन्। सोमबार दाङमा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म असफल भएर केही हुँदैन। देश असफल हुनु हुँदैन। जनता असफल हुनु हुँदैन। हामीले प्राप्त गरेका उपलब्धीहरु गुम्न दिन हुँदैन।’

उनले आफू सधैँ शासनमा बसिरहन नखोजेको तर काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको जिकिर गरे। उनले भने- ‘म शासनमा बसिरहन्छु भन्या छैन। मलाई काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको हुँ। त्यस्ता नेतालाई जनताले छानी छानी दण्डित गर्ने छन्।’

संसद जस्तो गरिमामय ठाउँमा झुक्किएर पनि कुतत्वहरुलाई जिताएर नपठाउन ओलीले आह्वान गरे।  ‘संसद जस्तो गरिमामय ठाउँमा । कानुन बनाउने ठाउँमा उम्किएर पनि, झुक्किएर पनि पुग्न दिन हुँदैन,’ उनले भने–‘चुनावमा सानदार विजय हासिल गरेर देशलाई अघि बढाउनेछौं ।’

देशमा अब कोही भोको बस्नुनपर्ने, भोको बस्न नदिइने सरकारको स्पष्ट नीति रहेको उनले दावी गरे ।‘अब कोही भोको बस्नुपर्ने छैन। भोको बस्न दिइने छैन’, उनले भने–‘सडकमा कोही पनि सकक आश्रित मानव रहने छैनन् । सबैलाई उद्धार गरिने छ। सडक बालबालिकालाई सरकारले उद्धार गरेको छ ।’

दाङमा औद्योगिक क्षेत्र

मन्त्रिपरिषदको बैठकले दाङको घोराहीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत जनसभालाई सम्वोधन गर्ने क्रममा जानकारी दिए। ‘दाङलाई औद्योगिक क्षेत्र बनाउन चाहन्छौं । त्यसका लागि हामीले मन्त्रिपरिषदको बैठकबाट निर्णय गरिसकेका छौं’, उनले भने–‘दाङमा एयरपोर्ट बनाउने दिशामा हामी गएका छौं।’

लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई आधुनिक शहरको रुपमा विकास गराउने प्रतिबद्धता व्यक्त गरे। जनसभालाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले निर्वाचनबाट नेपाल कम्यूनिष्ट पार्टी कमजोर नभएर अझ बलियो हुने दाबी गरे। ‘जनमतलाई विचमै अपरहण गर्न खोजियो। प्रधानमन्त्रीले त्यो षडयन्त्रलाई असफल पारिदिनुभयो’, पोख्रेलले भने–‘लोकतन्त्रलाई बलियो बनाउन चुनाव चाहिन्छ । चुनावलेनै देशमा निकास दिन्छ।’

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई आधुनिक राजधानी शहरको रुपमा विकास गरिने उनले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले सुदृढ कम्युनिष्ट पार्टी निर्माणको बाटोमा आफूहरु रहेको बताए। ‘यो देशको नेतृत्व अव फेरि केपी शर्मा ओलीले गर्नुपर्छ’उनले भने–‘उहाँको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विकासको पर्रा छुटेको मन्त्री नेम्वाङ्गले बताए।‘हरेक दिन एउटा पुल निर्माण सम्पन्न भैरहेको छ। हरेक दिन दुई किलोमिटर नयाँ सडक बनईरहेको छ’उनले भने–‘विकास भएन भन्नेहरु कहाँ छन् ? सरकारको यो काम देख्छन् कि देख्दैनन्?’

खानेपानी मन्त्री मणी थापाले प्रचण्डले नेपाली जनतालाई धोका दिदै आएको दावी गरे। ‘जनयुद्धलाई धोका दिनुभयो । सहकर्मी साथीहरुलाई धोका दिनुभयो । अझैं भन्ने हो भने नेपाली जनतालाई प्रचण्डले धोका दिनुभयो’, उनले भने– ‘प्रचण्डको राजनीति धोकादारी राजनीति भयो ।’

आमसभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा लगायतले सम्वोधन गरे । सभामा राष्ट्रिय सभा सदस्य कोमल ओलीले प्रधानमन्त्रीको पक्षमा सांगेतिक प्रस्तुति राखेकी थिइन्। नेकपा जिल्ला सदस्य तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिवालय सदस्य मनोहर बुढाथोकीले गरेका थिए। आमसभाको अध्यक्षता नेकपा दाङका सचिवालय सदस्य हुकुमबहादुर बस्नेतले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top