ट्रेण्डिङ

होमपेज / राजनीति

चिकित्सक संघको अध्यक्षमा सिलवाल विजयी

नेपालगाथा २०७७ माघ ६ गते मंगलबार १४:५६:२९ मा प्रकाशित

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा विराटनगरको नेतृत्वमा डा. फरवर्ड सिलवाल निर्वाचित भएका छन् । विराटनगरमा सोमबार सम्पन्न भएको निर्वाचनमा कुल ३ सय ६१ मतसहित डा. सिलवालले अध्यक्ष पदको कार्यकाललाई निरन्तरता दिने भएका छन्। उनका प्रतिस्पर्धी डा. कैलाशकुमार श्रेष्ठले २ सय ७१ मत प्राप्त गरेका थिए।

९० मतको अन्तरले पराजित श्रेष्ठले सामाजिक सञ्जालमा डा. सिलवाललाई बधाई तथा मत हाल्ने सबै चिकित्सकप्रति आभार प्रकट गरेका छन्। अर्कोतर्फ, दोस्रोपटक कार्यकाल निरन्तरताको मौका पाएका डा. सिलवालले पुराना बाँकी कार्यका लागि साथीहरुले साथ दिएकाे प्रतिक्रिया दिएका छन्। उनले अब निर्वाचन अघिकै वातावरणमा सबैसँग मिलेर चिकित्सकको हक अधिकार, क्षमता अभिवृद्धिमा लाग्ने बताए।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा जित हात पारेका संजिवकुमार ठाकुरले ३ सय १८ मत हात पार्दा डा. नविनकुमार कर्णले ३ सय २ मत पाएका थिए। त्यसैगरि, उपाध्यक्षमा जित हात पारेका डा. यज्ञ राज खरेलले ३ सय २२ मत ल्याउँदा उनका प्रतिद्धन्दी डा. बालकृष्ण साहले २ सय ९७ मत पाएका थिए।

महासचिवतर्फ डा. राजेन्द्र चौधरीले ३ सय ५१ मत ल्याएर जित हात पार्दा उनका प्रतिद्धन्दी डा. रविनराज सिंहले २ सय ७५ मत पाए। कोषाध्यक्षमा डा सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर जित हात पार्दा डा. सिलवन्त सेन ३ सय ६ मतमा सीमित भएका थिए। यस निर्वाचनमा डा. श्रेष्ठले सबैभन्दा कम ४ मतको अन्तरले जित हात पारेका हुन्।

२००७ सालमा स्थापित संघमा पहिलोपटक दुई खेमासहित उम्मेदवारहरु निर्वाचनमा होमिएका थिए। संघमा १ हजार २ सय ८१ जना मतदाता रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top