ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसले आज संसद् विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्ने

नेपालगाथा २०७७ माघ ३ गते शनिबार ०७:३५:३१ मा प्रकाशित

काठमाडाैँ।  नेपाली कांग्रेसले आज संसद् विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो।

सभापति शेरबहादुर देउवाले सरकारको यस कदमविरुद्ध हुने विरोध प्रदर्शनमा सहभागी हुन पनि आह्‍वान गरेका छन्। ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ’, सभापति देउवाले शुक्रबार विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top