होमपेज / राजनीति
काठमाडौँ । नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए ।
बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार सांगठनिक कामलाई सम्पन्न गर्न सुझाव दिनका लागि नेपालको नेतृत्वमा गृहकार्य टिम बनाएको छ । गृहकार्य टीममा अष्टलक्ष्मी शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।
यो टिमले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठनको बारेमा र पार्टी संगठनको एकीकरणको काम सम्पन्न गर्न सुझाव दिनेछ । त्यसका लागि एक हप्ताको समयसीमा तोकिएको छ । बैठकले लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारीबाट हटाएको छ । पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएर लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ । कान्तिपुरबाट ।