ट्रेण्डिङ

होमपेज / राजनीति

'प्रचण्ड र माधव नेपाललाई हाँडी चुनाव चिन्ह सुहाउँछ’- नेकपा युवा नेता बस्नेत

नेपालगाथा २०७७ पौष १३ गते सोमबार २३:५९:१० मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिन्ह नभएर हाँडी चुनाव चिन्ह सुहाउँने बताउनुभएकाे छ । साेमबार कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा सम्वाेधन गर्दै नेता बस्नेतले सुर्खेतको घण्टाघर पार्कमा आयोजित हजारौं युवाहरू सहभागी कार्यक्रमलाई सम्वाेधन गर्दै सूर्य चिन्ह आफूहरुकाे बलिदानवाट स्थापित भएकाले आफ्नो भएकाे बताए । 'सूर्य चिन्ह तपाईँहरुको बिर्ता हैन्, अब आउने चुनावमा हाँडी लिएर चुनावी मैदानमा उत्रिनुहोस्' बस्नेतले आक्राेश पाेखे ।

प्रचण्ड र माधव नेपाल प्रती निकै आक्रोशित बनेका बस्नेतले भने, ‘दुई तिहाईको बहूमत प्राप्त सरकारलाई सफल बनाउन छाडेर प्रधानमन्त्री विरुद्ध मोर्चावन्दी गर्नेहरुले सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नलगाउन चेतावनी दिए ।' उनले प्रचण्ड खेमा केपी ओलीसँग 'मिल्न हैन निल्न' आएको भन्दै आफै चोइटिएर गएको टिप्पणी गरे । 
बस्नेतले भने, 'प्रचण्डसँगै माधव नेपाल पनि सती गएकाले अब सूर्य चिन्हलमाथि आँखा लगाउने कुनै हैसियत र औकात छैन ।'

प्रधानमन्त्री ओलीलाई तीन वर्षसम्म कामै गर्न नदिएको भन्दै प्रधानमन्त्री र अध्यक्षबाट पछार्न खोजेपछि संसद विघटन गर्न बाध्य भएकाे प्रसंग सुनाउँदै नेता बस्नेतले प्रचण्ड–नेपाल पक्षले सानो टुकडी लगेर विभाजन भएको आरोप लगाए । नेता बस्नेतले थपे, ‘अपराधीलाई कारवाही गर्दा ओली विरुद्ध लाग्नुभयो, अब सडकमै बस्नुहोस, तपाईंहरुको ठाउँ त्यही हो ।

नेपाली काँग्रेस चुनावको पक्षमा भएको बस्नेतले दाबी गरे । ‘बाहिर देखावटी प्रदर्शन गरे पनि काँग्रेसकाे याे चुनावी सभा भएकाे बताउँदै नेता बस्नेतले अब केपी ओलीले गर्नु भएका राम्रा कामको प्रचार गर्दै प्रचण्ड–नेपालले कामै गर्न नदिएको सन्देश लिएर हरेक टोल र तहसम्म पुग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिनुभयाे ।’

नेकपाको ओली समूह नै मुलधार र संस्थापन भएको बस्नेतको ठहर थियो। प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गर्ने आँट नभएपछि संसद सचिवालयमा दर्ता गरेको बस्नेतको आरोप छ । पार्टी विभाजनको खलनायक पात्र प्रचण्ड भएको र उनको सती नेपाल र खनाल गएको बस्नेतको आरोप छ ।
सभालाई संवोधन गर्दै नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री नवराज रावतले प्रचण्ड र माधव नेपाल समूहले सरकारलाई कामै गर्न नदिएको बताए । सरकार अदालतको आदेश मान्न तयार भएको भन्दै राज्यमन्त्री रावतले माधव नेपालले १५ वर्ष पार्टी प्रमुख र प्रचण्डले ३२ वर्ष पार्टी चलाएको र केपी ओलीलाई एक कार्यकाल पनि काम गर्न नदिएको गुनासो गरे ।
भेलालाई युवा संघका केन्द्रीय सहसंयोजक किरण पौडेल लगायतले संवोधन गरेका थिए ।

पार्टी विभाजन भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले सुर्खेतमा स–साना वैठक र भेला गर्दै आएको भए पनि अब ठूला बैठक र जुलुसहरुको आयोजना गर्न थालेका छन् । कार्यक्रम शुरु हुनुअघि हजारौंको संख्यामा रहेका कार्यकर्ताहरु मोटर साईकल र्याली गर्दै आँखा अस्पताल, वीरेन्द्रनगर बजार र कालिन्चोक हुँदै घण्टाघरमा आमसभा स्थल पुगेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजनपछि ओली समूहले सुर्खेतमा छ्टुटै भेलाको आयोजना गरेको हो । भेलामा ओली समूहका नेता महेश बस्नेत लगायत केन्द्रीय, प्रदेश तथा जिल्लास्तरका नेता र कार्यकर्ता सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top