होमपेज / राजनीति
काठमाडौँ । मौलिक हकका दृष्टिकोणबाट २०७२ सालमा जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट मानिन्छ। संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको प्रबन्ध गरिएका छन्। तर त्यसको अनुभुति भने आम नागरिकले गर्न पाएका छैनन्। संविधानको भविष्यमाथि नै आशंका उत्पन्न भएपछि बल्ल धिमा गतिमा मौलिक हक कार्यान्वयनका लागि आधार तयार भएको छ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पाँच वर्षमै संविधानसभाले जारी गरेको संविधानको भविष्य संकटमा परेको छ। संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुन बनाइसक्ने समय सीमा निर्धारण गरिए पनि अन्तिम समयमा हतारहतार प्रक्रिया नै नपुर्याई जारी भएको थियो।
संविधानमा थपिएका १६ वटा मौलिक हक कार्यान्वयनका लागि नयाँ ऐन बनेको थियो। समय सीमाको अन्तिम समयमा ऐन जारी भए जस्तै त्यसको कार्यान्वयनका लागि थप दुई वर्ष भन्दा बढी समयपछि नियमावली तयार भएको हो। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार हालसालै मन्त्रिपरिषद्ले १४ वटा ऐन कार्यान्वयनका लागि नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
मन्त्रालयका सचिव ऋषिराज भण्डारीका अनुसार मन्त्रिपरिषदले रोजगारीको हक, भूमि सम्बन्धी ऐन, उपभोक्ता संरक्षण ऐन, सामाजिक सुरक्षा ऐन, अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी, बालबालिका सम्बन्धी ऐनका नियमावली जारी भएका छन्। त्यस्तै वातावरण संरक्षण सम्बन्धी ऐन, जनस्वास्थ्य सेवा ऐन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, अपराध पीडित संरक्षण ऐन, आवासको अधिकार सम्बन्धी ऐन र खाद्यय अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनका नियमावली पनि जारी भएको छ।
जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) र सार्वजनिक सुरक्षा ऐन कार्यान्वनयका लागि भने नियमावली बनाउन आवश्यक नभएको सचिव भण्डारीले जानकारी दिए। नियमावली बनेसँग थपिएका मौलिक हक कार्यान्वयनका लागि बाटो खुलेको छ।