होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले संसद विघटनप्रति मिश्रित धारणा राखेका छन्। आइतबार विघटन भएको प्रतिनिधिसभाबारे पार्टीको धारणा बनाउन मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले मिश्रित धारणा रोखका हुन्। तथापी मंगलबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पाँचजनाले मात्र बोलेका थिए।
बैठकको सुरुवात गर्दै सभापति देउवाले प्रतिनिसभा विघटन अलोकतान्त्रिक र निरंकुशतातर्फको यात्रा भनी टिप्पणी गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। सोमबार अरु दलसँग पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले पार्टी कसरी अघि बढ्नु उपयुक्त हुन्छ भन्दै केन्द्रीय सदस्यसँग सुझाव मागेका थिए।
देउवापछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने सरकारको निर्णयको सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो। पौडेलले कांग्रेसले अभिभावकको भूमिका खेल्नु पर्ने अवस्था आएको तर त्यो भूमिका सजिलो नभएका बताएका थिए। कसैले सत्ताको लोभ देखाएमा त्यसको पछि लाग्न नहुने पौडेलको भनाइ छ।
उनले ओलीको असंवैधानिक कदम सच्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने र नेकपाको प्रचण्ड नेपाल खेमासँग मिलेर अघि बढ्नुपर्ने आशय व्यक्त गरेको एक नेताले जानकारी दिए। त्यस्तै केन्द्रीय सदस्य महेश आचार्यले संविधानले संसद र सरकार दुवैको स्थायित्वको व्यवस्था गरेको अवस्थामा संसद विघटनको निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक भएको धारणा रोखका थिए।
उनले देशै प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चलाउनु पर्ने सुझाव बैठकमा रोखको देश सञ्चारसँग बताए। बैठकमा आफूले राखेको धारणाबारे जानकारी दिँदै उनले भने, ‘हाम्रो संविधानले संसद र सरकार दुवैको स्थायित्वका लागि प्रबन्धहरु गरेका छन्। त्यसलाई सरकारको निर्णयले उल्लंघन गरेको छ। यसविरुद्ध १६५ वटै निर्वाचन क्षेत्र र स्थानीय तहसम्म जानुपर्छ।’ आचार्यले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रममा जाँदा अरु दलसँग सहकार्य गर्न नहुनेमा जोड दिए।
उनले प्रतिनिधिसभा विघटजनको निर्णयलाई कांग्रेसले गम्भीर रुपमा लिएर प्रतिरोध गर्नुपर्ने सुझाव राखे। तर केन्द्रीय सदस्यहरु नारायण खड्का र एनपी साउदले संसद विघटन स्वभाविक भएकाले अब कांग्रेसले चुनावमा केन्द्रित हुनुपर्ने बताए। उनीहरुले यसअघि कांग्रेसले पनि आफ्नै बहुमतको सरकार हुँदाहुँदै संसद विघटन गरेर मध्यावधी चुनावमा गएको स्मरण गर्दै अहिले पनि चुनाव नै अबको बाटो भएको उल्लेख गरे।
नेता खड्काले आवेशमा सडकमा आन्दोलनमा गएर अलपत्र पर्न नुहेन विचार आफूले बैठकमा राखेको बताए। उनले भने, ‘सडकमा जाँदा लक्ष्य के हुने? विना योजना सडकमा जान हुँदैन। सडकमा गए पनि हामीले भने जस्तो नहुन सक्छ। हामीले पनि विघटन गरेका हौँ। त्यसैले जनतामा जाने हो। त्यसका लागि तयारी गरौं।’
नेता खड्काले सरकारको निर्णयले संविधान घाइते भएकाले त्यसलाई चुनावबाट सच्याउनुपर्ने उल्लेख गरे। ‘घाइते संविधान बचाउन चुनावमा जानुपर्छ। चुनाव हुँदैन भनेर बस्नु हुँदैन, गराउने वातावरण बनाउनुपर्छ। नेतृत्वले क्षमता देखाउनुपर्छ। बेष्ट अप्सन नै चुनाव हो,’ खड्काले भने। साउदले पनि चुनावको वातावरण बनाउन तिर लाग्नुपर्ने सुझाव दिए। बैठक बुधबार पनि जारी रहनेछ।