होमपेज / राजनीति
काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसहमति अनुसार संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता नलिएपछि आइतबार एक बजे प्रस्तावित स्थायी कमिटि बैठक सोही अध्यादेशमा मात्रै केन्द्रीत हुने र तय भएका अन्य एजेण्डामा प्रवेश नगर्ने सम्भावना बढेको छ।
प्रधानमन्त्री ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको अध्यादेश फिर्ता लिने सहमति पुस एक गतेको स्थायी कमिटि बैठकले अनुमोदन गरेको थियो। तर यो बीचमा अध्यादेश फिर्ताका लागि प्रधानमन्त्री ओलीले कुनै पहल नगरेको बरु आफूविरुद्ध प्रचण्डको ‘अभियोग’ पत्र फिर्ता भएपछि मात्रै अध्यादेश फिर्ता गरेर संयुक्त प्रस्ताव तयार पार्नुपर्ने नयाँ शर्त अघि सारेका छन्।
प्रचण्डले भने ओलीले अध्यादेश फिर्ता लिने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने तर आफ्नो प्रस्ताप फिर्ता नहुने र यसबारे पार्टी कमिटि बैठकमा छलफल हुनुपर्ने अडान लिएका छन्। स्थायी कमिटि सदस्य बेदुराम भुसालले पूर्वसहमति अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिएको अवस्थामा त्यसैमा बैठक केन्द्रित हुने सम्भावना रहेको बताए। उनले आइबार देश सञ्चारसँग भने, ‘सहमति अनुसार अध्यादेश फिर्ता भएन।
पूर्वसहमति कार्यान्वयन नगरेपछि नयाँ विषयमा बैठक केन्द्रित हुने कुरा भएन। आजको बैठक अध्यादेशमा केन्द्रित हुने सम्भावना छ। त्यो भन्दा अघि नै अध्यादेश फिर्ता भएको खण्डमा हामीले यसअघि नै तय गरेका एजेण्डामाथि छलफल गछौँ।’ तर प्रचण्ड पक्षकै सचिवालयका एक सदस्यले भने अध्यादेश फिर्ता गर्नुपर्नेमा दबाब दिनुका साथै प्रचण्डको प्रस्तावमाथि पनि बैठकमा आजदेखि छलफल हुने बताएका छन्।
उनले प्रस्ताव बैठकको मुख्य एजेण्डा भएकाले त्यसमाथिको छलफलबाट पछि हट्ने अवस्था नरहेको बताए। यता प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग’पत्रमाथि छलफल हुने भए बैठकमा नजाने धम्की शनिबार प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर दिएका छन्। अहिले बैठकमा आफू सहभागी हुने कि नहुने भन्नेबारे उनले आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरिरहेका छन्।