ट्रेण्डिङ

होमपेज / राजनीति

विशेष अधिवेशन गर्न हस्ताक्षर अभियान ब्युँताउने असन्तुष्ट पक्षको तयारी

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १४:४९:२५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएपछि संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका ८३ जना सांसदहरुले  हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रयास पुनर्जीवित हुने देखिएको छ।नेकपा असन्तुष्ट पक्षका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता नलिएमा आफूहरु पुरानै पत्र बोकेर राष्ट्रपति कार्यालयमा जान ठीक्क परेको जानकारी दिए।

उनले भने- प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको सहमति कार्यान्वयन हुने हाम्रो विश्वास हो। दुई दिनयता थप आशंका उत्पन्न भएको छ। अध्यादेश फिर्ता भएन भने हामी पुरानै पत्र बोकेर राष्ट्रपति कार्यालयमा जानेछौँ।’

उनले हस्ताक्षर संख्या बढाउने पनि दाबी गरे।

मंगलबार प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षलाई तर्साउनका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै त्यसमा हस्ताक्षर गरेकी थिइन्। यसबाट प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको मर्ममाथि प्रहार गरेको भन्दै नेकपाका असन्तुष्ट पक्ष साथसाथै विपक्षी दलहरुले पनि चर्को विरोध गरेका थिए।

संविधानमाथि हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री ओलीबिरुद्ध संसदमा अविश्वास प्रस्ताव र राष्ट्रपति भण्डारीलाई महाअभियोग प्रस्ताव लगाउने मागसम्म उठेको थियो। दबाब खेप्न नसकेपछि ओलीले बुधबार दाहालसँग अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए। यद्यपि ओलीले शुक्रबारसम्म पनि अध्यादेश फिर्ताका लागि कुनै पहल गरेका छैनन्।

ओली अध्यादेश फिर्ता लिन तयार भएपछि दाहाल पनि आफ्नो पक्षले तयार पारेको आवेदन पत्र फिर्ता लिन तयार भएका थिए। दाहालसँग सहमति भएलगत्तै असन्तुष्ट पक्षका नेता एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सहमतिमा ओलीले अध्यादेश फिर्ता लिने र दाहालले आवेदनपत्र फिर्ता लिने जानकारी सार्वजनिक गरेका थिए।

ओली पक्षका स्थायी समिति सदस्य बिष्णु रिमालले भने सहमतिमा आयोगहरुमा नियुक्त गर्नेसहित तीनवटा सहमति भएको दाबी ट्विटमा गरेका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सहमतिमा आयोगहरुमा नियुक्ति गर्ने सहमति भएको दाबी गरेका थिए। त्यत्रो सहमति हुँदाहुँदै ओलीले बिहीबार साँझका लागि संवैधानिक परिषद् बैठक बोलाएका थिए। यसै विषयमा केन्द्रित भएर शुक्रबार पेरिसडाँडामा दाहाल-नेपाल गुटको भेला भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top