होमपेज / राजनीति
काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वारपारको लडाईँका क्रममा उनीहरुले आ–आफ्ना पक्षमा बैठक, भेला र प्रशिक्षण कार्यक्रमहरु बढाएका छन्। प्रचण्ड र पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार राजधानीमा आयोजना हुन लागेको गोप्य बैठकमा सामेल हुने नेकपा प्रदेश नम्बर १ का नेता तथा कार्यकर्ताहरुलाई सम्बाेधन गर्ने भएका छन्।
बैठक पूर्वमाओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा १ बजे हुन लागेको नेकपा प्रदेश एक कमिटिका सचिव सुरेश राईले देश सञ्चारलाई जानकारी दिए। उनका अनुसार शुक्रबारको बैठकमा नेकपा प्रदेश एकका नेताहरुले पार्टी एकतावद्ध बनाउन सुझाव दिने र पार्टीको विधि, पद्धति र प्रक्रियालाई तोड्न नदिन उच्च तहका नेताहरुले निर्देशन दिने कार्यक्रम रहेको छ।
३५ जनालाई निमन्त्रणा दिइएको गोप्य बैठकमा एक नम्बर प्रदेशका जिल्ला अध्यक्ष, इन्चार्ज, सहइन्चार्जलगायत सामेल हुँदैछन्। बैठकमा प्रचण्ड, नेपाललगायत ओलीसँग अन्तुष्ट नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ। स्वास्थ्य स्थिति राम्रो भए पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि सामेल हुने कार्यक्रम रहेको छ। बैठक करिव तीन बजेसम्म चल्ने नेता राईले बताए।
ओली र प्रचण्डबीच उत्पन्न विवाद साम्य नभएका बेला ओलीले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेपछि विवाद झनै उत्कर्षमा पुगेको थियो। बुधबार ओली अध्यादेश फिर्ता लिन तयार भए पनि उनले प्रचण्डसँग गरेको सहमतिविपरीत बिहीबार संवैधानिक परिषद्को बैठक आह्वान गरेका थिए।
तर प्रचण्ड बालुवाटारमा पुगेर आफ्नो सहमति विपरीत बैठक बोलाएको भन्दै आपत्ति जनाएपछि ओली बिहीबार साँझ पाँच बजे तय गरिएको संवैधानिक परिषद् बैठक रोक्न बाध्य भएका थिए। तर ओलीले प्रचण्डसँगको सहमति अनुसार अध्यादेश तत्काल फिर्ता गर्ने भन्दै प्रचण्डसँग गरेको सहमति अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिएको थिएन। त्योसँगै ओलीले अध्यादेश फिर्ता नलिने हुन् कि भन्ने आशंका कायमै रहेको नेता राईले बताए।