होमपेज / राजनीति
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर घोषित गर्न माग गर्दै रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र परिषद् सदस्य रहेका प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाएका छन् ।
तर, आफैंलाई विपक्षी बनाइएको रिटमा प्रधानन्यायाधीशसमेत रहेको इजलासमा सुनुवाइ तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा सो मुद्दाको पेसी चढेको छ ।
मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी ऐनमा रहेको व्यवस्था संशोधन गर्दै बैठकमा ततकाल बहाल रहेका पदाधिकारीको बहुमत भए बैठकका लागि गणपूरक पुग्ने र निर्णय गर्न सक्ने व्यवस्था राखेर सिफारिस गरेको अध्यादेश जारी गरेकी थिइन् ।
आफ्नो मुद्दा आफैं हेर्दै राणा
आफ्नो मुद्दा आफैंले हेर्न नमिल्ने प्राकृतिक न्यायको सिद्धान्त हो । तर, प्रधानन्यायाधीश राणा समेतलाई विपक्षी बनाइएको रिट उनकै अध्यक्षतामा रहेको इजलासमा पेसी तोकिएको छ । संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमै बस्ने संवैधानिक व्यवस्था रहेकाले बैठक उनीविना बस्न नसक्ने अवस्था रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
तर, रिट निवेदक अधिवक्ता अर्याल भने प्राकृतिक न्यायको सिद्धान्तलाई सर्वोच्च अदालतले सम्मान गर्नुपर्ने बताउँछन् । “सर्वोच्च अदालतले प्रधानन्यायाधीशविना नै संवैधानिक इजलास बस्न सक्ने गरी निकास निकालेपछि मात्रै अध्यादेशका विषयमा प्रवेश गर्ने गरी निकास निकाल्नु उपयुक्त हुन्छ,” उनी भन्छन् ।