होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताए । संयुक्त राष्ट्रसंघीय महासभाको ३१ औं विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभए सम्म संसार महामारीबाट सुरक्षित नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको प्रसंसा गरे । सम्बोधनका क्रममा उहाँले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने र सम्पूर्ण मानव जगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको पनि उल्लेख गरे ।
त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको र महामारीको त्रासदी रहेको बताए । कोरोना महामारीबाट कोही पनि सुरक्षित नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको जानकारी दिए ।
शून्य जस्तै अवस्थाबाट शुरु गरेर मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधा सहितका प्रयोगशालाहरु विस्तार गरिसकेको र ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको जानकारी दिदै उहाँले सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेको उल्लेख गरे ।