ट्रेण्डिङ

होमपेज / राजनीति

आज नेकपा सचिवालय बैठक हुने, ओली सामेल नहुने सम्भावना प्रवल

नेपालगाथा २०७७ मंसिर १७ गते बुधबार ०९:४४:१३ मा प्रकाशित

काठमाडौँ । आफ्नो सहमति विपरी नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार सचिवालय बैठक बोलाएकाले आफू त्यसमा नजाने अडान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन्। ओली निकट एक उच्च तहका नेताका अनुसार मगंलबारकै बैठकमा ओलीले आफ्नो कार्यव्यवस्थता देखाउँदै बैठकमा सामेल नहुने अडान लिएका थिए।

तर प्रचण्डले बैठक छल्न नहुने भन्दै बुधबार १ बजेका लागि बैठक तय गरेको र बैठकपछि बाहिर आएर प्रचण्ड पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसैअनुसार पत्रकाहरुलाई ‘ब्रिफिङ’ गरेका थिए। बुधबार अहिलेसम्म प्राप्त सूचना अनुसार प्रधानमन्त्री ओली बैठकमा सामेल नहुने भएका छन्। तर बैठक भने पूर्वनिर्धारित समयमा हुने अडान प्रचण्ड पक्षले राखेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पूर्वनिर्धारित समयमा हुने र प्रधानमन्त्री आउने नआउने बैठकमा गएपछि थाहा हुने बताए। उनले देश सञ्चारसँग भने,‘हामीले आज १ बजेका लागि बैठक तय गरेका हौँ। त्यो सचिवालयकै निर्णय हो। त्यसैअनुसार आज बैठक बस्नेछ। तर प्रधामन्त्री आउने नआउने म अहिले भन्न सक्दिन।’

प्रचण्ड पक्षका नेता झलनाथ खनालले पनि पूर्वनिर्धारित बैठक कसैले पनि रोक्न नसक्ने बताएका छन्। उनले भने,‘बैठकबाट भाग्ने कसैलाई पनि छुट छैन। हिजो हामीबीच आज बैठक गर्ने सहमति भएको हो। त्यसैअनुसार आज बैठक बस्छ।’ मगंलबार साँझ प्रधानमन्त्री निकट अर्का नेता ईश्वर पोखरेलले भने अनौपचारिक रुपमा पनि छलफल गर्ने र बैठक पनि गर्ने भन्ने हिसावमा बुधबार पनि सचिवालय बैठक हुन लागेको जानकारी दिएका थिए।

उनले देश सञ्चारसँग भनेका थिए,‘आज दुवै अध्यक्षको प्रस्तावमाथि छलफल भयो। अब अनौपचारिक छलफल पनि गर्ने र भोलि बैठक बस्ने निर्णय भएको छ। भोलि हामी बस्छौँ।’ ओलीले मगंलबारको बैठकमा प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन र माफी माग्न आग्रह गरेका थिए। जवाफमा प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता गर्नका लागि ल्याइएको नभई छलफल गर्न ल्याइएको अडान लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top