होमपेज / राजनीति
काठमाडौँ । स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग मिल्नुको विकल्प नभएको बताउनु भएको छ । अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउनु पर्ने बताउनुभएको छ । उहाले सामाजिक संजालमा लेख्नु भएको छ, 'म फेरी पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस्।'
नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरि एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध पनि गर्नुभएको छ । यसैवीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत प्रस्ताव पेश गरेपछि नेकपा भित्रको विवाद चुलिदै गएको छ । यता प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर समेटेर प्रस्ताव तयार गरेको स्रोतले जनाएको छ । सर्वप्रथम दुबै पक्ष अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड-माधव समूहको छ । गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्ध लान्छनायुक्त राजनीतिक प्रस्ताव ल्याएपछि नेता तथा कार्यकता समेत रुष्ट बनेका छन् ।