ट्रेण्डिङ

होमपेज / राजनीति

ओली–देउवा बीच घण्टौं छलफल

नेपालगाथा २०७७ मंसिर ७ गते आइतबार १६:२७:२६ मा प्रकाशित

काठमाडाैं । सरकारको नेतृत्वकर्ता दल (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ओली र देउवाबीच भएको लामो भेटवार्ताले कांग्रेस र नेकपा वृत्तमा तरंग सिर्जना गरेको छ । 

नेकपाका एक प्रभावशाली नेताले ओली र देउवाबीचको भेटवार्तालाई अस्वीकार गरेनन् । ‘उहाँहरूबीच कुराकानी भएको होला, यसबारे मलाई धेरै जानकारी छैन,’ उनले लोकान्तरसँग भने । केही सहयोगी नेता राखेर ओली र देउवाले विभिन्न विषयमा छलफल गरेका थिए ।

कांग्रेस स्रोतका अनुसार संवैधानिक आयोगमा नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतासँग परामर्श गर्न खोजेका थिए । प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । यस पटकको भेटमा ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको नेकपा र कांग्रेस वृत्तमा चर्चा छ । 

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत असार १७ र २१ गते पनि ओली र देउवाबीच लामो छलफल भएको थियो ।  बेला पनि ओलीले देउवासँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको चर्चा बाहिर आएको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत यसबारे प्रश्न उठेपछि देउवाले जवाफ दिएका थिए । 

यसपटक पनि ओलीले सरकार अप्ठ्यारो परेको अवस्थामा देउवासँग सहयोगका लागि आग्रह गरेको टीकाटिप्पणी भइरहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. मीनेन्द्र रिजालले सत्ता साझेदारीबारे छलफल भएको भन्ने कुरा सत्य नभएको दाबी गरे ।

‘कम्युनिस्ट पार्टी फुटेको प्रमाण छैन, फुटेको प्रमाण लिएर आएमा यसबारे सोचौंला,’ रिजालले टिप्पणी गरे । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै ७ पृष्ठ लामो पत्र र सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

सो पत्रमा प्रचण्डले ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको तथा संसद विघटन गर्न खोजेको आरोप लगाएका थिए । 

‘पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन विघटन गर्ने कुरा हो कि ? मैले बुझेको छैन,’ प्रचण्डले पत्रमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top