ट्रेण्डिङ

होमपेज / राजनीति

बूढा नेताविरुध्द विद्रोह : ‘दाहाल रणनीति’ कसले जान्‍ने ?

नेपालगाथा २०७७ मंसिर ७ गते आइतबार ११:१७:०४ मा प्रकाशित

काठमाडौं । २०३८ मा पुष्पकमल दाहाल भारतको अयोध्यामा पुगे । त्यहाँ नेकपा चौम केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) चलिरहेको थियो । दाहाल त्यतिबेला चौमको क्षेत्रीय ब्युरो सदस्य थिए । प्लेनम उनका लागि ठूला नेता भेट्ने अवसर बन्यो । अयोध्यामा दाहालले मोहनविक्रम सिंह र निर्मल लामा जस्ता क्रान्तिकारी नेतालाई भेटे । त्यो भेटले उनलाई बूढा नेताप्रति वितृष्णा जगायो । त्यही बेला उनको मस्तिष्कमा क्लिक भयो- ‘अब नेतृत्व युवाले आफ्नो हातमा नलिएसम्म केही हुनेवाला छैन ।’

अयोध्या पुगेको दशकौंपछि दाहालले ‘प्रयोगशाला’ पुस्तक लेखिरहेका पत्रकार सुधीर शर्मासँग प्लेनममा उब्जिएको मनोभावना सुनाए, ‘मोहनविक्रमजी र लामाजीबारे हामीलाई के बुझाइएको थियो भने, उहाँहरू धेरै नै क्रान्तिकारी हुनुहुन्छ । हामीलाई पनि लाग्थ्यो- हाम्रा नेताहरू महानै छन् । त्यसैले अब क्रान्ति हुने भयो । तर त्यहाँ उहाँहरूले असाध्यै तल्लोस्तरको झगडा गर्नुभयो ।

मोहनजीले लामालाई त यसले २०२८ देखि पार्टीलाई हैरान पारेको छ भन्दै सीआइडी हो भन्ने खालको आरोप लगाउनुभयो । तैँ नै भनी बोलाउनुभयो मञ्चबाट । खत्तम रहेछन् जस्तो लाग्यो । लेखक शर्माका अनुसार, अयोध्याबाट फर्किएपछि नै हो दाहालले बूढा नेताविरुध्द विद्रोह थालेको । ०४० सालमा नेकपा चौम फुट्यो । दाहाल मोहनविक्रम नेतृत्वको नेकपा मसालमा आवध्द भए । ०४१ सालमा उनी नेकपा चौमको केन्दीय सदस्य भए ।

केन्द्रीय सदस्य भएपछि पहिलो बैठकमै सशस्त्र संघर्षसम्बन्धी मोहनविक्रम सिंहको नारालाई दाहालले ‘तिलस्मी आडम्बर’ जस्तो गफ ठर्‍याएको सन्दर्भ शर्माले आफ्नो पुस्तक प्रयोगशालामा उल्लेख गरेका छन् । ०४१ सालमा नेकपा मसाल पनि फुट्यो । त्यसपछि दाहाल मोहन वैद्य नेतृत्वको नेकपा मशालतिर लागे । ०४३ वैशाख १५ मा ‘सेक्टर काण्ड’ नामक घटना घट्यो ।

राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनको विरोधस्वरूप नेकपा मशालका कार्यकर्ताले राजधानीका ९ सेक्टरका प्रहरी पोस्टमाथि आक्रमण गरेका थिए । तर, यो आक्रमण असफल भयो । सुरुदेखि नै दाहाल सेक्टर आक्रमणको विपक्षमा थिए । यही अडान बूढा नेताहरूको नेतृत्व खोस्ने कडी बन्यो । अन्ततः ०४६ सालमा बूढा नेताहरूलाई पन्छाएर दाहाल नेकपा मशालको महामन्त्री बने, जतिखेर उनी ३५ वर्षका थिए । त्यसपछि ३५ देखि ६५ वर्षको उमेरसम्म आइपुग्दा दाहालले पार्टी नेतृत्व हस्तान्तरण गरेका छैनन् ।

अब नियालौँ वर्तमान
२०३८ सालमा दाहालले तत्कालीन नेकपा चौममा देखेको नेतृत्व लडाइँ (सिंह-लामाबीच) र यो समय दाहालले नेतृत्व गरेको नेकपामा देखिएको लडाइँमा केही अन्तर छैन । फरक यत्ति हो, त्यो बेला चौम सत्ताबाहिर थियो भने यतिखेर सत्तामा । त्यसैले जुधाइका ‘रूप’का सवालमा केही फरक होला । नेतृत्वका टाउका-टाउकाबीचको लडाइँको ‘सार’ एकै छ ।

विश्व कोभिड-१९ महामारीसँग जुध्न अनेक प्रयत्न गरिरहेको छ । तर, नेपालको सत्तारूढ नेकपामा भने शक्ति संघर्ष चरम अवस्थामा पुगेको छ । यहाँ पदीय भागबण्डाका लागि लडाइँ चलिरहेको देखिन्छ । त्यो शक्ति संघर्षको नेतृत्व गरिरहेका छन्, नेकपाका अध्यक्ष दाहाल र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली ।

दुई अध्यक्षबीच अवसर खोजिरहेका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि फेरि नेतृत्वमा पुग्न प्रयास गरिरहेका छन् । उनमा अहिलेसम्म अब नेतृत्व युवाको हातमा दिनुपर्छ भन्ने सोच पनाएको देखिएको छैन । ०६६ सालमा प्रधानमन्त्री भइसकेका नेपाल नेकपा एमालेको महासचिव दुई पटक (छैटौं महाधिवेशन ०५४ र सातौं महाधिवेशन ०५९) भए । ०५१ सालमै उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेका उनको पद मोह अझै सकिएको देखिँदैन । 

त्यो बेला दाहालको मनमा जसरी बूढा नेताहरूबीच वितृष्णा जाग्यो र बूढाहरूबाट नेतृत्व नखोसेसम्म केही हुँदैन भन्ने सोच पलायो, त्यसरी यतिखेर नेताहरूमा त्यो सोच उब्जदै छ । केही युवा नेताहरू मस्तिष्कमा दाहाल शैली चाल चल्दैछ ।

नेतृत्व खिचातानी लक्षित गर्दै नेकपा नेत्री विन्दा पाण्डे कार्यकारी अधिकारको पुस्तान्तरण गर्नुपर्ने बताउँछिन् । पाण्डेले मंगलबार सामाजिक सञ्जालमार्फत यो विचार सार्वजनिक गरेकी हुन् । ‘बैठक र बहस कार्यकारी अधिकारको पुस्तान्तरण र सचिवालय अभिभावकीय भूमिकामा जाने प्रक्रियामा केन्द्रित होस्, याद गरौं कार्यकर्ता र सदस्य नेकपा कम्पनीका श्रमिक हैनन्’, उनी लेख्छिन्, ‘नेकपा विवादको लाज छोप्न मास्क हैन, घुम्टो चाहिने भइसक्यो । नेताको धाजा फाटेको मन सुपर ग्लुले पनि जोडिने र पुरिने देखिन्न ।’

प्रस्ट छ, नेकपामा पार्टी नेतृत्वविरुध्द छिटपुट आवाज उठिरहेका छन् । तर, तल्लोस्तरबाट मात्र । दोस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरणका लागि आवाज उठाउन सकेका देखिँदैन । यो तहका नेताहरू पार्टीभित्र देखिएको पछिल्लो विवादलाई मिलाएर तत्कालका पुरानै नेतृत्वलाई सहयोग गर्न खोजेको देखिन्छ ।

पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेल लगायतका दोस्रो तहका नेताहरू पार्टी विवाद मिलाउन समय खर्चंदैछन् । तर, उनीहरूको ध्यान तत्काल पार्टी नेतृत्व आफ्नो हातमा लिनुपर्छ भन्नेतिर छैन ।

दाहाल तथा वरिष्ठ नेता नेपाल खेमाका नेताहरूको ध्याउन्न पनि नेतृत्व हातमा लिनेतिर देखिँदैन । दुवै खेमाबाट प्रतिनिधित्व गर्ने जनार्दन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका दोस्रो तहका नेताहरू दुबै अध्यक्षलाई मिलाउनेमै केन्द्रित छन् ।

तर, तेस्रो तहका केही युवा नेताहरू भने दुबै अध्यक्ष असफल भएको भन्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका छन् । नेकपाकी तेस्रो तहकी नेत्री रामकुमारी झाँक्री अब युवाहरूले नेतृत्वलाई विस्थापन गर्नुपर्ने धारण राख्छिन् । उनले बुधबार नेकपाको नेतृत्व असफल भइसकेको प्रस्ट पारेकी छन् । ‘नेतृत्वको सम्पूर्ण रूपमा यो भन्दा असफल हुने ठाउँ छैन, असफल नेतृत्वलाई विस्थापन गर्न पनि विधिमै जानुपर्छ । यो चुनौतीको सामना गरौं’, झाँक्रीले लेखेकी छन् ।

कांग्रेसमा कसरत, देउवा नै भारी
युवा ब्युँतिने प्रयत्न नेपाली कांग्रेसमा पटकपटक भएको देखिन्छ । सात भाइ युवा नेताको प्रयत्न पछिल्लो उदाहरण हो । ०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नराम्रोसँग पछारिएपछि संस्थापन पक्षविरुध्द केही युवा नेताहरूले आवाज उठाए । उनीहरू एउटा समूह नै बनाएर बूढो नेतृत्वविरुध्द अभियानसमेत चलाए ।

संस्थापनविरुध्द लागेका ती युवा नेताहरू थिए, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी र बद्री पाण्डे । ०७४ पुस १५ मा विज्ञप्ति जारी गर्दै सातै जनाले यो समूह जन्माएका थिए । चुनावमा कांग्रेसले हारेसँगै यो समूहमार्फत युवाहरूले सभापति शेरबहादुर देउवालाई पाखा लगाउने योजना बनाए । तर, कांग्रेस संस्थापनले सभापतिलाई घुँडा टेकाउने समूहको योजनालाई सफल हुन दिएन । फलस्वरूप समूह फुट्यो । ०७४ पुस २५ मा सात भाइमध्येका विश्वप्रकाश शर्माले पार्टी प्रवक्ताको जिम्मेवारी पाए ।

प्रवक्ताको पदभार ग्रहणपछि साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले युवा पुस्ता भन्दा पनि पध्दतिले पार्टीलाई ‘ड्राइभ’ गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । शर्माको त्यो अभिव्यक्ति त्यो समूहमा जीवित छैन भन्ने संकेत थियो । पछिल्लो समय उनी सभापति देउवाका हरेक कदमको प्रतिरक्षा गर्नमै व्यस्त देखिन्छन् ।

०७५ वैशाख ११ मा देउवा उपस्थिति केन्द्रीय समिति बैठकमा यो समूहले ५१ पृष्ठ लामो धारणापत्र पेस गर्‍यो । गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव, जीवन परियारले दस्तावेजमा हस्ताक्षर गरेका थिए । तर, समूहमा विश्वप्रकाश शर्मा, बद्री पाण्डे बाहिरिएको र रामकृष्ण यादव, जीवन परियार भित्रिएको देखियो ।

युवा नेताहरूको यो समूहले ०७५ मंसिर २९ देखि पुस ८ गतेसम्म चलेको कांग्रेस महासमिति बैठक आफ्नो हस्तक्षेपकारी भूमिका खेल्ने तयारी गरेको थियो । महासमितिको बैठकअघि कात्तिक २८ मा यो समूहले छुट्टै छलफलसमेत गरेको थियो । तर, यो समूहले महासमिति बैठकमा अपेक्षाकृत भूमिका खेल्न सकेन ।

यसरी ‘पाका नेतालाई पार्टी सञ्चालनको आधुनिक ढाँचा सिकाउने’ अभियानमा हिँडेको युवा समूहले हार बेहोर्न पुग्यो । नेतृत्व परिवर्तन गर्न हिँडेका नेताहरू पद स्वार्थकै पछाडि हिँडेको घटना कांग्रेसमा पहिलो पटक घटेको भने थिएन । यसअघि पनि पटकपटक यस्ता युवा गठबन्धन बनेका थिए ।

गणतन्त्रको बहसका लागि बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले ००८ सालमै दबाब बनाएका थिए । सोही समूहको दाबाबका कारण ०१२ मा ‘प्रजातान्त्रिक समाजवाद’ नीति पारित भएको मानिन्छ । सो समूहले ००८ चैत २५ मा ‘नेपाली काँग्रेसका लागि लोकतान्त्रिक समाजवादी घोषणापत्र २००८’ तयार गरेको थियो ।

बीपीले आफ्नो देहावसानअघि तीन नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । भट्टराईलाई कार्यवाहक सभापति, सिंह सर्वोच्च नेता र कोइरालाले महामन्त्री पद पाएका थिए । जसलाई ‘ट्रोइका’ नामकरण गरिएको थियो ।

०५३ सालमा पहिलोपटक गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । कोइराला सभापति बनेपछि सो समूह टुट्यो । ०३४ देखि ०४८ सम्म कार्यवाहक सभापति रहेका भट्टराई त्यसपछि निर्वाचित सभापतिको हैसियतमा थिए । भट्टराईलाई पार्टी सभापतिबाट हटाउन ठूलै कसरत भयो । भट्टराईविरुध्द मोर्चा कस्न र कोइरालालाई सभापति बनाउन खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदारको समूह सक्रिय रह्यो । जसलाई ‘केजीबी’को नामले चिनिन्थ्यो ।

गिरिजाप्रसाद कोइरालाले मृत्युअघि सुशील कोइरालालाई कार्यवाहक सभापति बनाए । जो दुई कार्यकाल सभापति मात्र बनेनन् प्रधानमन्त्री समेत बने । सुशीलको अवसानपछि सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच जुहारी चल्यो । प्रतिस्पर्धामा देउवाले नेतृत्व हत्याए भने पौडेल पराजित भए । कांग्रेसमा ०४८ देखि ०५३ सम्म सक्रिय दोस्रो पुस्ता भनिएको रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवाको गठबन्धन ‘आरएसएस’का नामले चिनिन्थ्यो । तिनैमध्येका एक देउवाले कांग्रेस हाँकिरहेका छन् । इकागजबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top