ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध फर्जीपत्र बनाउन एक गिरोह नै सक्रिय

नेपालगाथा २०७७ मंसिर ४ गते बिहीबार २०:४७:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जीपत्र बनाउन एक गिरोह नै सक्रिय रहेको खुलासा भएको छ । जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा लागेका समुहको रणनीतिक योजनामा फर्जीपत्र तयार भएको खुलेको हो ।

नेकपाका दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अगुवाईमा केही राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति लागेर सो पत्र तयार भएको खुलेको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै त्यसको प्रतिवाद गर्ने र आरोप प्रमाणित गर्न नसके प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने अडान राखेपछि यो रहस्य बाहिर आएको हो । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको फर्जीपत्रलाई काउन्टर दिदै भन्नुभयो,‘यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।’

प्रधानमन्त्री ओलीको यो भनाई आउने वित्तिकै प्रचण्ड हच्किएका थिए । प्रधानमन्त्री ओलीपछि बोल्नु भएका प्रचण्डले मैले कसैलाई आरोप लगाउन खोजेको होइन, केवल यस्ता कुरा उठे भन्न मात्र खोजेको भन्दै मलिन रुपमा प्रस्तुत हुनु भएको थियो । उहाको यो भनाईसँगै फर्जीपत्र कसरी तयार भयो भन्ने कुरा उठ्न थालेको छ । विश्वस्त स्रोतका अनुसार भारतको डिजाइनमा यो आरोपपत्र तयार भएको दावी गरेको छ ।

भारतीय गुप्तचरसंस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल नेपाल आएपछि पछिल्लो रणनीति तय भएको बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएपनि उनले नेपाल बसाईको क्रममा भावी रणनीति बनाएर गएका थिए । सोल्टी होटलपछि पाण्डे थरी भएका एक व्यापारीको घरमा उनले प्रचण्डसहित नेकपाकै शिर्षस्थ, नेपाली कांग्रेसका लगायतका केही दलका नेताहरुसग भेट गरेका थिए । सो भेटमा उनले आफुले प्रधानमन्त्री ओलीसँग भेट्ने र त्यसलाई तपाईहरुले विरोध गर्नुपर्ने योजना बनाएका थिए ।

सोही योजनाअनुसार प्रचण्ड लगायतका समुहले विरोध गरेका थिए । सो भेटमा जसरी पनि ओलीलाई हटाउनुपर्ने र हट्न नमाने पार्टी विभाजन गरेर भएपनि निकाल्नुपर्ने निचोड आएको हो । सो अनुसार प्रचण्डले सचिवालय बैठकमा एकाएक ‘राजनीतिक प्रतिवेदन’ भन्दै कुण्ठा बोकेर आएको स्रोतले जानकारी दिएको छ । पार्टीको विधानअनुसार बैठकमा प्रतिवेदन ल्याउन दुवै अध्यक्षको सहमति अनिवार्य हुन्छ । अर्थात यसअघिका बैठकमा दुवै अध्यक्षको संयुक्त प्रतिवेदन आउथ्यो । तर, यसपटकको बैठकमा प्रचण्डले गुरिल्ला शैलीमा कुण्ठालाई प्रतिवेदन भन्दै ल्याएका थिए । यहाँ यो भन्दा आश्चर्यको कुरा के छ भने बैठकमा प्रस्तुत गरेको एक घण्टा नबित्दै प्रचण्डले यो रिपोर्ट मिडियामा बाडेका थिए । यसबाटै उनको नियत छलफल गर्ने र मिडियाबाजी गर्ने भन्नेमा प्रष्ट देखिएको नेताहरुले बताएका छन् । सो कुण्ठालाई प्रधानमन्त्री ओलीले प्रमाणित गरे आफु हट्ने र प्रमाणित नभए प्रचण्डले अध्यक्ष छाड्नुपर्ने शर्त राखेपछि प्रचण्ड अहिले अप्ठेरोमा परेका छन् ।

नेकपाको पछिल्लो अपडेट सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापा र संघीय समाजवादी पार्टीका परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फर्जीपत्रको अपनत्व लिएका छन् । स्रोतका अनुसार दुवै जना यो फर्जीपत्र तयार गर्न जुटेको दावी गरेको छ । ‘बैठकमा प्रधानमन्त्री ओलीज्यूले अब प्रमाणित गर्नहोस् वा पार्टीको अध्यक्ष पद छाड्नुहोस् भनेर भन्ने वित्तिकै यो समुहले अब प्रचण्ड पछाडी हट्ने भए भनेर अपनत्व लिएका हुन्’, स्रोतले भन्यो ।

थापालाई नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले भारतीय र दरबारको एजेन्ट भएको आरोप लगाउने गर्नुहुन्थ्यो । भट्टराईको विषयमा त थप केही बताईरहनु पर्दैन । पार्टी भित्रको फर्जीपत्रको अपनत्व लिने होड विपक्षी नेतामा देखिनुले पनि यो तयार कहाँ भयो भनेर धेरै सोच्नुपर्ने आवश्यकता नरहेको स्रोतले बताएको छ ।

सार्वजनिक रुपमा कुरा उठेपछि प्रधानमन्त्री ओलीले भने यसको जवाफ दिने जानकारी बैठकमा गरिसक्नु भएको छ । उहाले हरेक शब्द शब्द र हरफ हरफको जवाफ लिएर बैठकमा आउने घोषणा गरिसक्नु भएको छ । जनता टाइम्सबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top