ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डलाई देखाई दिने कसम खाएका ओली यसरी गले, १० दिन घुर्काउने यस्तो छ रणनीति 

बासु देब न्याैपाने २०७७ मंसिर ३ गते बुधबार १५:५९:१८ मा प्रकाशित

२८ कात्तिकमै नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजेबस्नलाई  टुंगो लगाएको थियो । २८ कात्तिक साँझ बसेको बैठकले पार्टीको विवादलाई आगामी बैठकको कार्यसूची बनाएर टुंगोमा पुग्ने गरी निष्कर्ष त निकाल्यो तर २९ कात्तिकदेखि नै दुई अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आमनेसामने मात्र भएनन्, ३ मंसिरको बैठकलाई प्रतिष्ठाको लडाइँ बनाए । 

त्यसैले २९ कात्तिकमै शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो संवाद गरे, त्योभन्दा पहिला बालुवाटारमा आफ्नै समूहका नेताहरूसँग विमर्श गरेका थिए । आफ्नो समूहको निष्कर्ष सुनाउने र राष्ट्रपति भण्डारीबाट थप सुझाव लिन ओली शीलतनिवास पुगे । तर, शीतलनिवासको सन्देह दुई अध्यक्ष मिल्नुपर्ने आशय त थियो नै  त्योभन्दा बढ्ता माधव नेपाल र वामदेव गौतमलाई फकाउन सुझाव थियो । त्यसैको प्रभावस्वरूप ३० कात्तिक बिहानै नेता गौतमसँग करिब ४५ मिनेट संवाद गरेका ओलीले दिउँसो साढे ४ घण्टा नेता नेपालसँग छलफल गरे । ती दुवै बैठक ओलीका लागि प्रीतिकर थिएनन् । 

अनपेक्षित रूपमा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि तनाबमा परेका ओली त्यो प्रतिवेदन फिर्ता गराउने रणनीतिमा थिए । उनीनिकटका नेताहरू पनि त्यही प्रयासमा थिए । र, २९ कात्तिकयताका पाँच दिन निरन्तर त्यसैमा केन्द्रित भए । तर, योबीचमा विकसित घटनाक्रमले ओली झन् दबाबमा परे । 

हिजो साँझ प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत हाउ यान्छीसँग झन्डै डेढ घण्टा संवाद गरे र त्यसलगत्तै राति शीतलनिवास पुगे । राजदूत हाउको प्रष्ट सन्देश थियो, सरकार परिवर्तन भए पनि पार्टी विभाजन गर्न नहुने । चीनको सकरात्मक सन्देश नपाएका ओली शीलतनिवास पुगेर थप विमर्श गर्न चाहन्थे, सँगै साँझ प्रचण्डसँग संवादको सूचना पनि लिन चाहन्थे ।त्यसैले राति निजी गाडीमा प्रयोग गरेर शीलतनिवास पुगेका ओली मध्यवाधी वा पार्टी विभाजनका लागि थप कदम चाल्ने वा संसद अधिवेशन बोलाउनेलगायतका सम्भावित कदममाथि छलफल त गरे तर त्यसले पनि संकट टर्ने स्थिति नभएपछि सचिवालय बैठकमा सहभागी हुन राजी भए । 

हिजो मात्रै पनि ओली समूहले प्रचण्ड समूहलाई दबाब राख्ने र गलाउने रणनीतिअनुसार नै प्रतिवेदन फिर्ता नभएसम्म बैठक राख्न नसकिने बताइरहेका थिए । र, त्यही सन्देश बोकेर महासचिव विष्णु पौडेल ओहोरदोहोर गरिरहेका थिए ।तर, प्रचण्ड समूह जसरी पनि सचिवालय बैठक राख्ने र स्थायी समिति बैठक मिति तय गर्ने निष्कर्षमा पुगेपछि ओली झुक्न बाध्य भए ।  अहिले ओली जसरी पनि स्थायी  समिति बैठक टार्न चाहन्छन् । जहाँ उनको राजीनामा त मागिन्छ नै बाध्य बनाउन सक्ने सम्भावना पनि छ । 

नेकपा स्रोतहरूका अनुसार ओली आज सचिवालय बैठकमा सहभागी हुनुमा ओलीका विकल्प कम हुँदै जानु एउटा कारण त हो नै अर्को चाहिँ प्रतिवेदन अर्को सचिवालय बैठकमा छलफल गर्न प्रचण्ड समूह राजी भएका कारण आज बैठक सकाएर अर्को बैठक अनिश्चित बनाउने रणनीति पनि जोडिएको छ । ओलीले बाकी १० दिनमा अर्कै खिचडी पकाउने सम्भावना रहेको ओली निकट श्रोतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top