ट्रेण्डिङ

होमपेज / राजनीति

 अन्तत: प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक ‘फेस’ गर्न तयार

नेपालगाथा २०७७ मंसिर ३ गते बुधबार १२:०६:४० मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तोकिएकै समय अर्थात बुधबार दिउँसो १ बजे बस्ने र त्यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकसँग बाझिने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । तर त्यसपछि भएका छलफलले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सार्ने र सचिवालय बैठकमा ओली पनि सहभागी हुने तय भएकाे छ।

ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

ओली, प्रचण्ड–नेपाल (माधवकुमार नेपाल) समूहको माग अनुसार दिउँसो १ बजे नै सचिवालय बैठक राख्न सहमत भएको सन्देश पौडेलले खुमलटार लगेका हुन् ।

त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् ।

यस्तै ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारेका छन् । विवाद समाधानको विकल्प वा उपायहरुबारे के गर्ने भन्नेबारे सचिवालयको बैठकले रणनीति बनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top