ट्रेण्डिङ

होमपेज / राजनीति

सचिवालय बैठकको समयमै मन्त्रिपरिषद् बैठक - अन्याैलमा प्रचण्ड-नेपाल समूह

नेपालगाथा २०७७ मंसिर ३ गते बुधबार १०:०३:४४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा केन्द्रीय सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएपछि सचिवालय बैठक बसाल्ने अडानमा रहेका प्रचण्ड-नेपाल समूहका सदस्यहरु अब के गर्ने भन्ने अन्याैलमा परेका छन्।

नेकपाको संकटग्रस्त राजनीतिले मुलुकमा अब के हुने हो भन्नेमा अनेक अड्कलबाजी भइरहेका बेला ओलीले आफै सामेल भएर सचिवालय बैठकबाट गराएको निर्णय अनुसार बसाल्न लागिएको सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने निर्णय गरेका हुन्।

ओलीले बुधबार दिउँसो १ बजे मन्त्रपरिषद्को आकस्मिक बैठक बोलाएको सूचना मन्त्रीहरुलाई पठाएका छन्। र, मन्त्रिपरिषद्को आकस्मिक बैठक सचिवालय बैठक तोकिएकै स्थानमा समेत हुने भएको छ।

गत कार्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकले आज १ बजे प्रधानमन्त्री निवास बालुवाटारको सचिवालय हलमा सचिवालय बैठक गर्ने निर्णय गरेको थियो। तर बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावपछि ओली पक्षमा झनै तनाव उत्पन्न भएको थियो।

ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, एकाधिकारवादी भएको, गुटबन्दी गरेको र सार्वभौमसत्तामाथिसमेत प्रहार हुनेगरी काम गरेको भन्दै ओलीलाई पद त्यागका लागि प्रचण्डले प्रस्तावमार्फत आग्रह गरेका थिए।

सोही प्रस्तावमाथि बुधबार निर्धारित सचिवालय बैठकमा छलफल गर्ने तयारी प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको थियो।

तर आफ्नो पद सुरक्षाका लागि ओलीले रातारात राष्ट्रपतिलाई भेटेर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय गरेको बुझिएको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हुन् कि भन्ने आशंका बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top