होमपेज / राजनीति
काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठककै समय पारेर मन्त्रिपरिषदको बैठक आव्हान गरेका छन् ।
सचिवालय बैठकको समय सार्ने या नसार्ने भन्ने बारे कुनै औपचारिक निर्णय हुनुपूर्व नै मन्त्रिरिषद् बैठक बोलाएर केन्द्रीय सचिवालयमा बहुमतमा रहेका प्रचण्ड–नेपाल पक्षसँग समर्पण नगर्ने संकेतका रुपमा यसलाई हेरिएको छ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजे बैठक बोलाएका छन्, सोही समयमा सचिवालय बैठक निर्धारण गरिएको थियो।
९ मध्ये ५ जना बहुमत सदस्यहरुले सचिवालय, स्थायी समिति र केन्द्रिय समितिको बैठक माग मात्रै गरेका छैनन् कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव समेत प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमा सरकार र पार्टीको समिक्षा गर्दै ओलीको प्रवृतिगतरुपमा आलोचना समेत गरेका छन् । उक्त प्रस्ताव सचिवालयका माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायतको सल्लाहामै तय भएको बताइएको छ ।
आज निर्धारित बैठक सार्ने ओलीको प्रस्तावलाई प्रचण्डले अस्विकार गरेपछि बैठक छल्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको अड्कल काटिएको छ ।
यसअघि हिजोमात्रै प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता लगत्तै ओली भण्डारीको समेत भेटवार्ता भएको थियो ।