ट्रेण्डिङ

होमपेज / राजनीति

शक्ति हत्याउन जसरी पनि आफ्नो पक्षमा बहुमतको गणित देखाउन उद्धत रहन थाले

नेपालगाथा २०७७ मंसिर २ गते मंगलबार ०६:२५:१८ मा प्रकाशित

लोकतन्त्रको एउटा आधारस्तम्भ भए पनि संसारभरि नै प्रतिनिधिमूलक व्यवस्थामाथि गम्भीर प्रश्न उठेका छन् । बहुमतको आडमा जस्तासुकै अनैतिक र निकृष्ट काम गर्न पनि पछि नपर्ने प्रवृत्ति विश्वव्यापी छ । अनि विभिन्न तत्त्वहरु आफ्नो स्वार्थपूर्तिका लागि शक्ति हत्याउन जसरी पनि आफ्नो पक्षमा बहुमतको गणित देखाउन उद्धत रहन थाले ।

अहिले नेपालमा त्यही भइरहेको छ । राजनीतिक स्थायित्व र समृद्धिको नारा लिएर जनतामाझ जाँदा झण्डै दुई तिहाइनजिकको बहुमत हासिल गरेको दल आन्तरिक रुपमा सबभन्दा अस्थिर र उथलपुथलपूर्ण रहेको छ ।
पाँच वर्षका लागि जनादेश प्राप्त गरेर प्रधानमन्त्री बन्न पुगेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि शक्तिच्युत बनाउने होडमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वामदेव गौतम लागिपरेका छनु । उनीहरुसँग यसका लागि कुनै सैद्धान्तिक र समसामयिक जनसरोकारका मुद्दा छैनन् । छन् त केवल निजी स्वार्थ र सरोकारका कुरा ।

ओलीलाई शक्तिच्युत गर्न अब प्रचण्डले पार्टीका सबै कमिटीबाट दबाब दिने र त्यहाँबाट सम्भव नभए विपक्षी दलहरुको सहयोग लिएर भए पनि संसदबाट हटाइछाड्ने दाउ रचेका छन् । त्यसैअनुरुप विभिन्न दक्षिणाभिमुख घटकहरुलाई मिलाएर बनाइएको समाजवादी जनता पार्टीसँग समेत भित्रभित्रै कानेखुसी गरिँदै छ । कांग्रेस नेतृत्वसँग पनि यसबारे सघन वार्ता भइरहेको बुझिएको छ । पृष्ठभूमिमा दक्षिणी शक्तिले यसमा सहजीकरण गरिरहेको छ ।संसद जनसरोकारका मुद्दालाई बुलन्द रुपमा उठाउने, बहस गर्ने र उचित निर्णय लिन सरकारलाई सघाउने अनि गलत निर्णयमा रोक लगाउने थलो बन्नुपर्ने हो । संसदीय समितिहरुले सुशासनका हरेक सूचकमा रहेर सरकारका कामकारवाहीको रखबारी गर्नुपर्ने हो । सरकारले गरेका खराब नियुक्तिहरुलाई रोक्नुपर्ने हो ।

तर, यहाँ संसद र संसदीय समितिबाट यस्ता अपेक्षा गर्नु नै मुर्खता भइसकेको छ । लोकदर्शन रेग्मीदेखि युवराज खतिवडाजस्तो विवादित पात्रहरुका नाममा सर्वसम्मत ताली ठोक्नेहरु संसदमा रहेसम्म यस संस्थाको औचित्य रहनेछैन ।
संसद केवल सत्ताको गणित मात्र होइन । शक्तिको रणमैदान मात्र पनि होइन । राष्ट्रिय आदर्श स्थापना गरिने एउटा बृहत् मञ्च हो । शासकीय संस्कारको जग र सामाजिक थितिको मार्गदर्शक हो ।तर यहाँ संसद भन्नाले सरकार बनाउने र भत्काउने थलो बनेको छ । निश्चित नेताका महत्वाकांक्षाको शिखर चुम्ने भर्याङ भनेको छ । सांसद भनेको स्वार्थसमूहका दाउपेच ओकल्ने माध्यम बनेका छन् । यिनले जनताको आवाज बोल्दैनन् । आममान्छेका पीडा सुन्दैनन् । श्रमजीवीका समस्यालाई पुँजीपतिका स्वार्थसँग साट्न पुग्छन् । भ्रष्टाचार, अनियमितता र राज्ययन्त्रका बदमासीमा यिनीहरु रमिते बन्छन् ।

यस्तो संसद के संसद ? यस्तो संरचना केका लागि ? के सांसदहरु भनेका आफू र एकाध आफन्तका नाममा संसद सचिवालयबाट तलबभत्ता बुझ्ने कारिन्दा मात्र हुन् र ? केही शीर्ष भनिने नेताहरुका गोटी मात्र हुन्, जसलाई देखाएर अर्को नेतासँग बार्गेनिङ गर्न सकयोस् ?अहिले प्रचण्डले त्यही गरिरहेका छन् । ओलीविरुद्ध बहुमत सिद्ध गरेर प्रचण्ड आफू सत्तामा जाने दाउमा छन् । त्यसका निम्ति जस्तासुकै अनैतिक र अस्वस्थ खेल खेल्न तयार छन् । आफ्नो दलभित्रबाट सम्भव नभए विपक्षीसँग साँटगाँठ गरेर भए पनि ओलीलाई सत्ताच्यूत गर्न प्रचण्ड तम्सेका छन् ।

यसको सहज उपचारका लागि अब ओलीसँग एउटा मात्र उपाय बाँकी छ, संसद नामको सेतो हात्ती विघटन गरिदिने । यसो गर्दा सरकारले प्रचण्ड, नेपाल र खनालहरुको गनगन सुन्नुपर्ने छैन । सांसद र तिनका सहयोगीहरुका नाममा जाने राज्यको ठूलो रकम बचत हुनेछ । त्यो रकम महामारी नियन्त्रणमा लगाउन सकिनेछ । तलबभत्ता मात्र होइन, सांसद विकास कोष भनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको अर्बौँ रकम पनि जोगिनेछ । निश्चित व्यापारी र ठेकेदार पृष्ठभूमिका सांसदहरुको बार्गेनिङ नमिलेर सार्वजनिक लेखा समिति र अन्य संसदीय समितिमा अड्किएका विकास निर्माण तथा खरिदसम्बन्धी फाइल फुकुवा हुनेछन् । विकास निर्माणको कामले गति लिनेछ । संसदीय समितिमा अनावश्यक बोलाइने पदाधिकारीले खुरुखुरु काम गर्ने पाउनेछन् ।

केन्द्रमा प्रधानमन्त्री र केही मन्त्री भएपछि बाँकी राजनीतिक पदाधिकारी आवश्यक पनि छैन । किनभने, संघीय सरकारसँग धेरै अधिकार पनि छैन । यसलाई अधिकार र स्रोत धेरै दिनु जरुरी पनि छैन । बरु ८९ प्रतिशत कर्मचारीलाई समेत प्रदेश र स्थानीय तहमा काम गर्न पठाइदिए हुन्छ । सरकारका कामको रखबारी गर्न प्रदेशसभा छँदै छन् । स्थानीय तहमा पनि जननिर्वाचित सरकार छन् । सरकारी तहमा हुने बदमासी र ढिलासुस्तीको जानकारी स्थानीय तहलाई जति जानकारी कसलाई होला ? त्यसकारण संघीय संसद विघटन गरे पनि वाचडकको भूमिका समेत प्रदेश र स्थानीय तहले गरी नै हौल्ने भएकाले ओली सरकार जवाफदेहीविहीन र लगामविहीन हुनेछैन ।

संसद विघटन गरेपछि प्रचण्ड लगायत सत्ताका रोगी र कुण्ठाग्रस्त सबै नेताहरु सडकमा आउनेछन् । उनको हैसियत रत्नपार्कका मुकुन्देको कद बराबर हुनेछ । यस्तो महामारी र आर्थिक मन्दीका कारण जनजीवन आलस तालस भएका बेला पनि जनताका नाममा एक शब्द सहानुभूति नदर्शाई केवल सत्तामा दावेदारी र घृणित प्रकारको खेलमा लाग्नेहरुलाई सबक सिकाउनका निम्ति पनि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आँट गर्नुपर्छ ।अबको करिब दुई वर्षभित्र नयाँ चुनावमा जानुपर्ने नै छ । ओलीले ठीक गरे कि गलत भनेर जनताले त्यतिखेर मूल्यांकन गर्ने नै छन् । त्यसैले यो बाँकी रहेको समयमा ढुक्कसँग काम गर्ने हो भने पनि जनताले राहतको सास फेर्न पाउनेछन् ।

प्रचण्डहरुको कर्कश स्वर र घृणित खेलबाट जनताले मुक्ति पाए पनि ठूलै राहत हुनेछ । प्रचण्ड भएको संसद, संसदीय दल र पार्टी रहेसम्म जनताले सुख नपाउनेचाहिँ निश्चित भइसक्यो । जसले गर्दा संसद, संसदीय पद्धति र गणतान्त्रिक व्यवस्थाप्रति नै जनतामा चरम घृणाको भावना बढ्दै जाने देखिएको छ । लोकतन्त्र जोगाउन र एउटा परिष्कृत एवं सुसंस्कृत व्यवस्था स्थापनाका निम्ति पनि प्रचण्डमुक्त राजनीति आवश्यक भइसक्यो । 

नारायण दाहाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top