होमपेज / राजनीति
हालै नेपाल बार एशोसिएशनले न्यायपरिषद् सदस्यको रुपमा बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई चयन गरेसंगै अबका दिनमा न्यायपरिषद्ले कुन बाटो रोज्ला भन्ने चासो धेरैतिर चलिरहेको छ ।उमेरले लगभग ७५ को हाराहारी पुगेका श्रेष्ठलाई ठूलो रस्साकस्सीका साथ नेपाल बारले छानेपछि न्यायालयमा हुने गतिविधिका कामकारबाहीका विषय के कस्ता काम होलान् भन्ने प्रतिक्षा हुनु स्वाभाविक हो ।
यसअघिको लगभग एक दशकमा भएका न्यायपालिकाका काम कारबाहीले न्यायपरिषद् सदस्यको अनुहारै बदल्न कानुनवृत्त सफल भएको छ ।३२ आकांक्षीहरु मध्ये सबैभन्दा सरल, सबैभन्दा इमान्दार व्यक्तिको छवि बनाएका श्रेष्ठलाई जोडबल लगाएर प्रधानमन्त्री केपी ओली तथा एमालेका शक्तिवालाहरुलाई समेत हराएर कसरी न्यायवृत्तले श्रेष्ठलाई जितायो भन्ने विषय निकै रोचक छ ।
श्रेष्ठलाई सफल बनाउनमा झट्ट हेर्दा नेपाल बारका पदाधिकारी र सदस्यको भोट रहेतापनि उनीहरुलाई श्रेष्ठलाई जिताउन कस्ले दबाब दियो, कसकसले भित्री रुपमा खेल खेले र के का आधारमा यस्तो परिणाम आयो भन्ने कुरा रोचक छ ।शुत्रहरुका अनुसार, श्रेष्ठलाई जिताउने मुख्य भूमिका नेपाल बार एशोसिएशनकै पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शम्भु थापाको रहेको थियो ।
थापा स्वयम् पनि न्यायापालिका शुद्धिकरण अभियानमा लागेका व्यक्ति हुन त्यसैले उनले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणी पोखरेललाई बार एशोसिएशनको साख जोगाउन श्रेष्ठलाई छान्न दबाब दिएका थिए ।सत्ताको तावेदारी गरिरहेको आरोप शुद्धिकरण अभियानबाटै खेपीरहेका बारका अध्यक्ष र महासचिवलाई समेत श्रेष्ठलाई जिताउने ठूलै अग्नीपरीक्षा नबनेको होइन ।
त्यसका लागि पूर्व माओवादी, नेपाली कांग्रेस र न्यायालयलाई जोगाउन इमान्दार कानुन व्यवसायीका बीचमा भित्रभित्रै एउटा गठजोड भइ सो निर्णय गराउन सफल भएको पनि शुत्रहरुको दावी छ ।नेकपाका बरिष्ठ नेता सुभाष नेम्बाङ र महान्यायाधीवक्ता अग्नी खरेललाई नेपाल बार एशोसिएशनको बैठक चलिरहेको बेला नै आफूहरुको पक्षमा १७ भोट आउने पक्का भन्ने व्रिफिङ्ग गरिएपछि मात्रै गत शनिवारका दिन चुनाव भएको थियो ।
यद्यपी कतिपयले खाली मतदान गर्ने, कोही हनुपस्थित हुने र कसैले भर्चुअल चुनावमा सबैका सामुन्ने खुल्ला रुपमा श्रेष्ठलाई मतदान गरिदिएर नेम्बाङ्ग र खरेलको रणनीतिलाई असफल गराइदिएका हुन ।कांग्रेस र पूर्व माओवादीले आफ्नै अनुहारका व्यक्तिलाई मात्रै भोट हाल्दा खेर जाने भएकाले भित्री रणनीतिका आधारमा श्रेष्ठलाई हाली प्रधानमन्त्री ओलीको चाहनाका बरिष्ठ अधिवक्ता महेश नेपाललाई हराएका हुन ।
यसरी मतदान गर्नेहरुको अनुहार पत्ता लगाएर कारबाहीको तयारी पनि नेम्बाङ्ग, खरेलले गरिरहेको बताइएको छ । प्रधान न्यायाधीश अध्यक्षताको पॉच सदस्यीय परिषद्मा नेपाल बार एशोसिएशनको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य नियुक्त गरिने र एक जना प्रधानमन्त्रीले नियुक्त कानुनविद् सदस्यको भूमिका लामो समयदेखि विवादको घरेमा परेको छ ।
तत्कालिन सदस्यहरु वासुदेव ढुंगाना र मोतीकाजी स्थापितको लोभलाग्दो भूमिकापछि कम उमेरका ससक्त सदस्यको रुपमा उपेन्द्रकेसरी न्यौपाने र खेम नारायण ढुंगानाको नियुक्ति गर्दा उनीहरुले बालुवाटारमा महंगा महंगा घर जोडेको, गाडी उपहार लिएर न्यायाधीश नियुक्ति गरेको र करोडौंको चलखेलमा नियुक्ति र सरुवा गरेका आरोप लागेको थियो ।
न्यायाधीश नियुक्तिमा राम्रालाई छानेर नियुक्ति गर्नुपर्नेमा सबैभन्दा कमसल व्यक्तिहरुलाई प्रश्रय दिएर कमाउ धन्दामा लागेको आरोप पनि उनीहरुमाथि नलागेको होइन ।
डेढ महिना अघि मात्रै अवकाश पाएका रामप्रसाद सिटौलाले समेत न्यायालयको नाकै काट्ने काम गरेको आरोप नलागेको होइन ।
उपेन्द्रकेसरी, खेमनारायण, सिटौलाको कामबाट बाक्क भएको न्यायवृत्तले यसपटक घुमाउरो तवरले लक्ष्मीबहादुर निराला र रामप्रसाद श्रेष्ठजस्ता इमान्दार कानुनविद्लाई न्यायपरिषद् सदस्य पाएको छ । उनीहरुको नियुक्तिसंगै अबका न्यायालयका नियुक्तिमा परिवर्तन आउने र इमान्दारले अवसर पाउने पनि विश्लेषण गरिएको छ ।
श्रेष्ठ चारबर्ष अघि दुई महिनाको लागि न्यायपरिषद् सदस्य भई काम गरेका थिए, तर नयॉ संविधान लागू भएपछि उनी संसदीय सुनुवाईको माध्यमबाट आउनुपर्ने व्यवस्था लागू भएको भन्दै झुक्याएर उनलाई हटाएको थियो ।
२०६२÷०६३ को आन्दोलनमा मानवअधिकारको दमनको अध्ययनका लागि गठन भएको कृष्णजंग रायमाझी आयोगको समेत सदस्य भई काम गरेका श्रेष्ठ एमालेका प्रतिबद्ध कार्यकर्ता हुन । उनलाई माधव नेपाल खेमाको कानुनविद्का रुपमा समेत चिनिन्छ ।
निराला समेत राजनीतिक रुपमा राजा ज्ञानेन्द्रको महान्यायाधीवक्ता बनेका भएतापनि न्यायिक काममा इमान्दार व्यक्तिका रुपमा चिनिन्छन् । न्यायिक नेतृत्वकै चाहनामा उनलाई प्रधानमन्त्री केपी ओलीले अघिल्लो बर्ष राजीनामा गरेका सदस्य पदमप्रसाद वैदिकको राजीनामा पछि नियुक्ति गरेका हुन ।न्यायपरिषद्ले पूर्णता त पाएको छ, तर अब यसले कुन बाटो अंगाल्ने हो हेर्न बॉकी छ ।
नारायण दाहाल