होमपेज / राजनीति
दसैँ र तिहारको शुभकामना, महामारीमा दुःख पाएका नागरिकप्रति संवेदना अनि भविष्यप्रतिको आशावादिता राजनीतिक नेतृत्वसँग अहिलेको न्यूनतम अपेक्षा हो । तर यतिखेर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा शुभकामना होइन, घृणाको आदानप्रदान भइरहेको छ । हार्दिकता, प्रेम, शान्त्वना र संवेदनाको ठाउँ घृणाले लिएको छ । अभाव, तनाव र त्रासले आकुल व्याकुल जनता शासकीय अत्याचार र राजनीतिक व्यभिचारका निकै निर्मम, नग्न र कुरुप दृश्यको सामना गर्न बाध्य भएको छ ।
नेताहरुले मौखिक र अनौपचारिक तहको घृणालाई शुक्रबारबाट त लिखित र औपचारिक रुपमै दस्तावेजीकरण गरिदिएका छन् ।सुरुमा असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति प्रदर्शन गर्दै अरु चारजना अतृप्त पात्रहरु धुम्वाराहीमा भेला पारेर एउटा घृणाको दस्तावेज तयार गरे । सामूहिक रुपमै बालुवाटार गएर प्रधानमन्त्री एवं नेकपाकै प्रथम अध्यक्ष केपी शर्मा ओलीका पाउमा चढाए ।उक्त घृणाको दस्तावेज पढेर ओलीभित्र प्रेमभाव जाग्ने कुरै भएन । त्यसमा थप घृणाजन्य शब्दावली थपथाप पारेर जवाफी पत्र पठाए । यति हुँदासम्म घृणाको यो कारोबार अनौपचारिक र एक हदसम्म गोप्य थियो । शुक्रबार प्रचण्डले सचिवालयको औपचारिक बैठकमै प्रतिघृणाको दस्तावेज दर्ता गरिदिए । यसमा समावेश गरिएका कतिपय शब्द संगृहित गरेर राख्ने हो भने नेपाली शब्दकोश र वाङ्मय अनुगृहित हुनेछन् । बरु शब्दकोशमा एउटा नयाँ परिच्छेद थपेर घृणाकोश नै राखिदिए पनि हुन्छ । यो काम कोशकारहरुले गर्दै गरुन् ।
अहिलेलाई लागौँ, नेकपाभित्रको घृणाको अन्तःस्थलतिर
घृणा कम्युनिस्टहरुको आधारभूत दर्शन हो । साम्यवादी वैचारिक आधार घृणाको जगमा उभिएको छ । कोही संगठन, नेता वा विचार कम्युनिस्ट हुनका लागि पहिला उसमा घृणा हुनु न्यूनतम सर्त हो । यसैका निम्ति एउटा वर्गशत्रु खडा गरिन्छ ।
फ्रान्स, जर्मनी लगायत युरोपेली मुलुकमा साम्यवादी दर्शन उदाउँदा त्यहाँ औद्योगिक क्रान्ति हुँदै थियो । उद्योगपतिले श्रमिकलाई शोषण गरेको देखेर वर्गशत्रु उद्योगपति भए । श्रमिक जति साम्यवादी संगठनका कार्यकर्ता ।भियतनाम, रुस र चीनतिर जमिनदारहरु वर्गशत्रु बने । चिनियाँ सांस्कृतिक क्रान्तिका नाममा बगेको रगत र तियानमेन स्क्वायरमा गरिएको नरसंहार त्यही घृणाको दर्शनका उपज थिए ।
नेपालमा सुरुमा वर्गशत्रु किटान गरेर गाउँका ठालुहरुलाई तारो बनाइयो । पछि तिनै ठालुको हातमा कम्युनिस्ट राजनीति पुग्यो । ती ठालुहरुले केन्द्रका शासकहरुलाई वर्गशत्रु करार गरे । त्यसको प्रतिनिधिका रुपमा राजा, राजसंस्था र पञ्चहरुलाई लिइयो । त्यसविरुद्धको आन्दोलन पनि सफल भयो ।त्यसपछि वर्गशुत्र भनेर व्यापारी वर्गलाई घोषणा गरियो र दलाल पुँजीवाद मुर्दावादको नारा लाग्यो । राष्ट्रिय पुँजीपतिका नाममा विनोद चौधरी, अजेयराज सुमार्गीहरुलाई काँध चढाइयो । यिनले गरेका कर छली र अवैध आर्जनहरुलाई राष्ट्रियताको बर्कोले छोपियो । कतिपय नेताहरुले यिनै व्यापारीहरुसँग अपारदर्शी साझेदारी गरे । करछलीलाई वैधानिकता मात्र होइन, कर छूट, कर फिर्ता र राज्यको कतिपय स्रोतसाधन नै जिम्मा लगाए ।
केही समय एउटा जातिले अर्कोलाई वर्गशत्रु घोषणा गरी राजनीतिमा विषारोपणको प्रयास पनि नभएको होइन । तराई र पहाडका बीचमा एकले अर्कालाई वर्गशत्रु घोषणा गरेर गृहयुद्ध मच्चाउन पनि नखोजिएको होइन । धर्मका नाममा आगो झोस्ने प्रयास अद्यापि जारी छ । तर, यी कुनै पनि प्रयास नेपालजस्तो उदार सामाजिक व्यवस्थामा सम्भव भएका छैनन् । खासमा भन्ने हो भने अब न राजनीतिक वर्गशत्रु बाँकी रहे, न त आर्थिक वर्गशत्रु नै । सांस्कृतिक रुपमा सबैभन्दा गिर्दो अवस्थामा आफै पुगे । अनि कसलाई वर्गशत्रु घोषणा गर्नु ? तैपनि, दार्शनिक आधार घृणा भएपछि कोही न कोही त शत्रुको थापना गर्नैपर्यो । त्यसैको प्रयासस्वरुप नेकपाका नेताहरु एकले अर्कोलाई शत्रु करार गर्न थालेका छन् । र, एकले अर्काको विरुद्धमा घृणाका दस्तावेज जारी गरिरहेका छन् ।
तिनका घृणापत्रहरु हेर्ने हो भने यो दुनियाँमा सबैभन्दा निम्छरो आत्मा र सोच खोज्नुपरेमा थप कष्ट गर्नु नपर्ने भएको छ । यिनका प्रत्युत्पन्न मतिका अगाडि अब अरु कुनै भष्मासुरको आवश्यकता देखिँदैन । यिनका दस्तावेजमा जनताले पाएको दुःखप्रति कुनै संवेदना छैन । महामारी, लकडाउन, कुशासन र राजनीतिक कुसंस्कारको चतुष्कोणीय मार खेप्न पुगेको जनजीवनप्रति कुनै सहानुभूति छैन । यस्तो अवनतिपूर्ण अवस्थाको कारक आफू पनि रहेकामा कुनै हीनताबोध छैन ।
विचरा जनताको घरमा खानेकुरा छैन । बजारमा रोजीरोटी छैन । अस्पताल गयो, उपचार छैन । राज्यतर्फ हेर्यो, सहारा छैन । राजनीतिक दलका नेता र तिनका अनुहार हेर्यो, सहानुभूति छैन । उल्टै ती अतृप्त आत्माहरुलाई हेर्दा पेटको तल्लो पिँधभित्रैदेखि आक्रोशको ज्वाला दन्केर आउँछ ।
यस्तो बेलामा पनि नेताहरु एकअर्काको गाँड चिथोरेर बसेका छन् । सबैतिरबार असहाय बनेपछि पेटको राँको बोकेर सीमापारि लाइन लागेका नागरिक हेरौँ । महामारी र लकडाउनका बेला पराइ देशबाट खेदिएर आएकाहरुका लागि अहिले आफ्नै घर, आफ्नै आगँन अनि आफ्नै मुलुक बिरानो बनेको छ । धिक्कार्दै उनीहरु फेरि पराइ भूमिमै सास अड्याउने उपायको खोजीमा हिँडेका छन् ।विवशताको भारी भोकेर सीमापारि पुगेका, जवानी ख्याउटिएका र आत्मसम्मान चाउरिएका यी नागरिकको बारेमा सत्ताधारी दलका कुनै नेतालाई वास्ता छैन । छ त केवल एक थान कुर्सीको चिन्ता । यति सस्तो, यति निच्छरो राजनीति संसारमा सायदै गरिन्छ होला । त्यसैले भन्न मन लाग्छ, यी घृणाजीवी नेताहरूलाई ।
नारायण दाहाल