होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ। पार्टीको विवाद उत्कर्षमा पुगेपछि सहमति जुटाउने प्रयास फेरि असफल भएको हो। प्रधानमन्त्री ओलीको बुधबारको अभिव्यक्ति र प्रदेश १ का आफूनिकट नेताहरूसँगको भर्चुअल छलफलले नेकपाको विवाद थप चर्किएको छ। प्रधानमन्त्री ओलीले बिहीबारको सार्वजनिक कार्यक्रममा आफूले पदबाट राजीनामा नदिने बताएका थिए।
'तपाईंलाई अहिलेको कसले राजीनामा मागेको छ। पार्टीभित्रको विवाद हामी सहमतिमा मिलाउन चाहान्छौँ। तर, तपाईंबाट पार्टीभित्रको विवाद बढाउने काम भइरहेका छन', अध्यक्ष दाहालको भनाइलाई उदृत गर्दै उनीनिकट नेताले भने, 'तपाईं आफैं समस्या झिक्ने अनि आफूनिकट नेतासँग छलफल पनि अघि बढाउनुहुन्छ।' आन्तरिक कलहका कारण अध्यक्ष प्रचण्डसँग दूरी बढिरहेको बेलामा प्रधानमन्त्री ओलीले बुधबार राजीनामा नदिने बताएका थिए। पटक पटकको कलहका कारण नेकपा अहिले विभाजनकै डिलमा पुगिसकेको अवस्थामा छ।
‘अहिले जतिले सरकारको आलोचना गरिरहेका छन्। उनीहरू देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरू हुन्, उनीहरूलाई त्यस्तै आदत छ,’ प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारमा भनेका थिए, ‘बाहिर के तयारी भइरहेको छ भन्ने कुरा होइन। त्यसबारे मलाई थाहा छैन। बाहिरी हल्ला हल्लामै सीमित हुन्छन्, हुनेवाला केही छैन।’ प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेता तथा कार्यकर्ताहरू जुममार्फत भर्चुअल भेला गरेका थिए। उनले भेलामा पार्टी संकटमा परेको पनि बताएका थिए।
ओलीले प्रदेश एकमा गरेको भर्चुअल बैठकले नेकपामा अर्को विवाद
दुई नेताबीचको विवादका कारण १२ दिनसम्म भेटवार्ता नै रोकिएको थियो। शनिबार भेटवार्ता भएपछि दुई नेताको भेटवार्ता फेरि रोकिएको थियो। आइतबार अध्यक्ष दाहालले आफूनिकट नेताहरुसँग खुमलटारमा प्रधानमन्त्री ओलीले अलग भएर जाने प्रस्ताव गरेको 'ब्रिफिङ' नेकपा विभाजन हुने कुराले देश तरंगित भएको थियो। नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्त कुमार गोयलसँगको भेट र पर्सामा मुकेश चौरिसयाको हत्या लगायत घटनाले विवाद चरमचुलीमा पुगेको छ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नै अडानका कारण पार्टी दुर्घटना नजिक पुगेका छ। तर, दोस्रो र तेस्रो तहका नेताहरुले कुनै पनि अवस्थामा विभाजित हुन नदिने बताइरहेका छन्। उनीहरु अहिले पार्टी एकता बचाइराख्ने अभियानमा पनि लागेका छन्। दुई नेताबीच दूतको भूमिका खेलिरहेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केही दिनअघि नेकपा गम्भीर संकटमा परिसकेको बताएका थिए।
प्रधानमन्त्री ओलीले बिहीबारै बसेको मन्त्रीपरिषद्को बैठकमा पनि पार्टीभित्रको विवादलाई संकेत गर्दै देश गम्भीर संकटमा जान सक्ने बताएको थिए। तर उनले मन्त्रीहरुलाई ढुक्कसँग काम गरिरहन पनि आग्रह गरेका थिए।