होमपेज / राजनीति
प्रधानमन्त्री केपी शर्माले कसैको दबाबमा राजीनामा नदिने प्रस्ट पारेका छन् । मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन समारोहमा उनले आज आफू रहरले नभई जनताको इच्छा र आवश्यकताले यो पदमा आएको र कसैको दबाबसामु नझुक्ने बताएका हुन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ ।
उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको भन्दै प्रश्न गरे, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’ केहीले तयारी गर्दैछन् भन्ने सुनेको भन्दै उनले त्यसले केही फरक नपर्ने बताए ।
‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने । केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र भित्रबाहिरबाट धेरै कोशिस भएको उनको भनाइ थियो ।