ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटार पुग्यो कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको विवाद, प्रधानमन्त्री ओलीसँग छलफल हुँदै

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार १४:३४:२२ मा प्रकाशित

काठमाडाैं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि सिर्जित विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूलाई बालुवाटार बोलाएका छन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेलका छुट्टाछुट्टै टोलीसँग प्रधानमन्त्री ओलीले संयुक्त छलफल गर्दैछन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि बिहान ११ बजे समय दिएका सांसद चन्द्रबहादुर शाहीले बताए । कर्णाली प्रदेशमा विवाद बढेपछि केन्द्रित नेतृत्वसँग छलफल गर्न दुवै पक्ष काठमाडौं आएका थिए । काठमाडौं आएपछि मुख्यमन्त्री शाही र कँडेल पक्षले खुमलटार गएर अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटिसकेका छन् भने ओलीसँग शनिवार संयुक्त भेट हुँदैछ । ‘प्रदेशमा विवाद बढेपछि समस्याको निराकरण केन्द्रको समन्वयमा हुनुपर्छ,’ सांसद शाहीले भने । 

बालुवाटारको छलफलमा प्रचण्डलाई पनि बोलाइएको भए पनि प्रचण्ड बालुवाटार नजाने खुमलटार स्रोतले जनाएको छ । ‘प्रचण्ड छलफलमा जान अनिच्छुक देखिनुभएको छ, प्रधानमन्त्रीलाई तपाईं नै मिलाउनुस् भनेर जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि असन्तुष्ट बनेका प्रचण्ड त्यसयता बालुवाटार गएका छैनन् ।

कर्णालीबाट नेताहरू शाही, कँडेल, प्रमुख सचेकतको जिम्मेवारी खोसिएका गुलावजंग शाह र नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्मा लगायत काठमाडौं आएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top