ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड- केन्द्रमा सल्लाह नगरी गलत बाटो समात्नुभयो, कँडेल- हामीले संवैधानिक अधिकार प्रयोग गरेका हौँ

नेपालगाथा २०७७ आश्विन ३० गते शुक्रबार १७:०४:२० मा प्रकाशित

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यको नेतृत्व गरेका नेता यामलाल कँडेललाई केन्द्रमा सल्लाह नगरी गलत बाटो सम्हालेको भन्दै त्यो सच्याउन अब सबैले भूमिका खेल्नु पर्ने प्रतिक्रिया दिएका छन्। 

नेता कंडेल, प्रमुख सचेकतको जिम्मेवारी खोसिएका गुलावजंग शाह र नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्माले प्रचण्डसँग भेटेर कर्णाली प्रदेश सभा र सरकारमा देखिएको समस्याबारे जानकारी गराएका हुन् । त्यस क्रममा प्रचण्ड र कंडेलबीच सवाल जवाफ नै भएको थियो । 

स्रोतका अनुसार प्रचण्डले आफूहरूलाई थाहै नदिई मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेर गलत गरेको बताएका थिए । 

जवाफमा नेता कंडेलले आफूहरूले संवैधानिक अधिकार प्रयोग गरेको बताएका थिए । ‘हामीले संवैधानिक अधिकार प्रयोग गर्दा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु जरुरी थिएन,’ कंडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । तर प्रचण्डले उनीहरूका कुरा गम्भीरतापूर्वक सुनेको र छिट्टै निकास दिने बताए । 

‘असन्तुष्ट समूहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति आफूहरूको असन्तुष्टि पनि राख्नुभयो र निकासका लागि आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छिट्टै भेटेर निकास दिने तत्परता अध्यक्ष प्रचण्डले पनि देखाउनुभएको  छ ।’

प्रचण्ड र कर्णालीका नेताहरूबीच लामो छलफल भएको थियो । पहिलो संविधानसभाको कार्यकालमा संविधान नबन्ने अवस्था आएपछि कंडेलको नेतृत्वमा सांसदहरूले दबाब अभियान सञ्चालन गरेका थिए । प्रचण्डले सो अभियानलाई समर्थन गरेका थिए । प्रचण्डले प्रदेशको सरकारलाई पहिलो कार्यकाल पूरा गर्न दिनुपर्ने राय राखेका थिए । 

कर्णाली सरकारका मुख्यमन्त्री शाहीलाई हटाउन नेकपा सांसदले संसदीय दलमा हस्ताक्षर गरेपछि त्यो विवाद केन्द्रसम्म आइपुगेको छ । मुख्यमन्त्री शाहीले हिजै प्रचण्डसँग भेटेर आफ्नो कुरा राखेका थिए । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीका दुवै पक्षलाई एकै ठाउँमा राखेर निकास खोज्ने भन्दै काठमाडौं बोलाएका थिए । ओली प्रचण्डबीच आजभोलिमै यसबारे छलफल हुने नेकपा स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top