होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशमा नेकपाभित्रको विवादले उत्कर्षकाे रुप लिएकाे छ । हिजाे असाेज २५ गते मात्र मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीका विरुद्धमा अविश्वासकाे प्रस्ताव दलकाे कार्यालयमा दर्ता भएपछि नेकपाका सांसदहरुबीचकाे विवाद छताछुल्ल भएकाे छ। नेकपा संसदीय दलको नेताबाट मुख्यमन्त्री शाहीको राजिनामा माग्दै १८ जना सांसदले हस्ताक्षरसहित प्रमुख सचेतक गुलावजंग शाहलाई अविश्वासकाे प्रस्ताव बुझाएका थिए ।
साेही विषयलाई लिएर नेकपा कर्णाली प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश सभा सदस्य एवं दलका प्रमुख सचेतक गुलावजंग शाहज्यूलाई जिम्मेवारीबाट मुक्त गराएका छन् । सरकार विरोधी गतिविधिमा सहभागी भएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारी मुक्त गरिएको पत्रमा उल्लेख गरिएकाे छ । दलका नेता तथा मुख्यमन्त्री शाहीले शाहीलाई प्रमुख सचेतकबाट पदमुक्त गरेलगत्तै प्रमुख सचेतकमा नेकपा संसदीय दलका सचेतक सिता कुमारी नेपालीलाई प्रमुख सचेतककाे जिम्मेवारी तोकिएको छ ।
पदमुक्त गरिएकाे पत्रमा भनिएकाे छ, 'प्रदेश सभा दलकाे विधान ७ अनुसार प्रमुख सचेतक नियुक्त गरिएकाेमा तपाइका काम कारवाही सन्ताेषजनक नभएकाेले आजसम्म गरेकाे कामलाई धन्यवाद दिँदै नेपाल कम्यूनिष्ट पाटी (नेकपा) प्रदेशसभा दलकाे प्रमुख सचेतककाे जिम्मेवारीबाट पदमुक्त गरिएकाे छ ।' तर पत्र २६ गते मात्र सार्वजनिक भए पनि पत्रमा भने २५ गते नै उल्लेख गरिएकाे छ ।