होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार दिउँसो बस्ने भएको छ। दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा सरकारका पछिल्ला निर्णयहरुबारे छलफल गर्ने तयारी छ। सरकारले मुख्य सचिव नियुक्ति तथा विभिन्न देशका लागि राजदूत सिफारिसमा एकलौटी ढंगले निर्णय गरेको भन्दै पार्टीको शीर्ष तहमा असन्तुष्टि बढेपछि शनिबार सचिवालय बैठक बोलाइएको हो।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि शनिबारका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। यस्तै, पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
यी नियुक्तिमा प्रधानमन्त्री ओलीले आफूहरुसँग छलफल नगरेको अन्य सचिवालय सदस्यहरुको गुनासो छ। शनिबारको बैठकमा पन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल हुने भएको छ। यसअघि असोज ४ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकमै मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि अहिलेसम्म कुनै पनि मन्त्री हेरफेर भएका छैनन्।
त्यसपछि अध्यक्षद्वयबीचको छलफलमा पुराना सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने वा केही मन्त्रालयमा मात्रै हेरफेर गर्ने भन्ने विषयमा कुरा मिलेको थिए । सचिवालय बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा पनि छलफल हुनेछ।