ट्रेण्डिङ

होमपेज / राजनीति

‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ले सार्थकता पाओस्– प्रदेश प्रमुख कलौनी

​​​​​​​ सन्दर्भ – ‘संविधान तथा राष्ट्रिय दिवस, २०७७’

नेपालगाथा २०७७ आश्विन ३ गते शनिबार १५:३४:३७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘संविधान तथा राष्ट्रिय दिवस, २०७७’ का अवसरमा एक शुभकामना सन्देश सार्वजनिक गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख कलौनीले सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बधाई दिनुभएको छ । 

साथै उहाँले मुलुकमा भएका विभिन्न कालखण्डका सङ्घर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका जनयुद्ध र जनआन्दोलनमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण वीर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडितहरू प्रति सम्मान समेत प्रकट गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधताले भरिपूर्ण कर्णाली प्रदेशको सामाजिक एकता आपसी सद्भाव र सहिष्णुतामा आधारित भएको उल्लेख गर्दै शुभकामना सन्देशमा संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ । 

सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको यस महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आमनागरिकहरू समेत क्रियाशील हुन आवश्यक भएको बताउदै प्रदेश प्रमुख कलौनीले संविधान दिवसको दिनले हामी सबै कर्णालीबासीलाई नेपालको संविधानका मूल्य र मान्यताहरू आत्मसाथ गरी अघि बढ्दै संविधानको पूर्ण पालना गर्न प्रेरणा मिलोस् भनि  विश्वास व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top