होमपेज / राजनीति
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल बिचको छलफल निष्कर्षबिहीन सकिएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप झण्डै २ घण्टा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेतात्रयबीच लामो छलफल भएको हो । नेता नेपाल निस्केपछि प्रचण्ड र ओलीबीच केहीबेर छुट्टै कुराकानी भएको थियो ।
प्रचण्ड– नेपालले ओलीको राजीनामालाई बटमलाइन बनाएपछि बिहीवारको छलफल पनि ठोस निष्कर्षमा पुग्न नसकेको नेकपा स्रोतले बताएको छ ।
भेटवार्तामा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी भएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीवार पनि नेताहरूबीच छलफल भएको जानकारी दिए ।
सरकारको कामका कारण पार्टीको बदनाम भएको भन्दै नेता नेपालले ओलीको राजीनामा गर्नुपर्ने अडान राख्दै आएका छन् । ओलीसँगको भेटअघि प्रचण्ड, नेपाल सहित सचिवालयका ६ जना सदस्यहरूबीच छलफल भएको थियो ।
सहमतिको प्रयास स्वरूप ओली र प्रचण्डबीच बुधवार पनि छलफल भएको थियो । असार १० गतेदेखि शुरू स्थायी कमिटी बैठक बीचमै रोकेर ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ ।