होमपेज / राजनीति
सुर्खेत । प्रमुख प्रतिपक्षी दलका सांसदको उपस्थिती बिनै कर्णाली प्रदेशसभाको बैठक सञ्चालन भएको छ । केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज –शनिबार) बसेको हो ।
यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन । शनिबारको बैठकमा प्रतिपक्षी दल काँग्रेसका सांसदहरु उपस्थित नभएका हुन । काँग्रेस सांसद दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताए ।
असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।
आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गरे । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्नेछ ।
रासस