होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री ओलीसंग छलफलका लागि प्रचण्ड बालुवाटारमा पुगेका छन् । नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुन लागेको हो ।
आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय बिहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् ।
दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ । तर, पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।
प्रधानमन्त्री ओलीले अन्तिममा केही नलागेको खण्डमा आलोपालोमा सहमति जनाउने सम्भावना रहेको सूत्रहरुको दाबी छ । प्रचण्ड–माधव समूहका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।