होमपेज / राजनीति
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै पोखरामा प्रदर्शन गरिएको छ । केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।
प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाए । ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका युवाले केपी ओलीजस्तो देशभक्त प्रधानमन्त्री अरु नभएको समेत बताए ।
‘५ वर्षीय स्थायी सरकार भनेर मतदान गरेका थियौं । बेमौसमी बाजा बजाएर ब्यक्तिगत स्वार्थ र कुर्चिका लागि अनिष्ट निम्त्याइरहेका छन्,’ प्रदर्शनमा रहेकी एक महिलाले भनिन्, ‘भारतीय दलालको पक्षमा लागेर, केपी ओलीको सरकारलाई कमजोर बनाइएको छ । भारतीय मिडियामा खुसीयाली मनाइएको छ ।’
विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी र विदेशी शक्ति लागेकाले युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताए ।
पोखरामा बिहानैदेखि परेको झरीकाबीच पनि प्रधानमन्त्री ओलीको फोटोसहितको प्रदर्शनमा उत्रिएका थिए । यस अघि काठमाडौं र झापामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरिएको थियो ।