होमपेज / राजनीति
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको आज आइतबार ६९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सोहि अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।
तर नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन । वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।
वि.संं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी त्यसबेला ४१ बर्ष उमेरका मात्रै थिए ।
उनी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक रहेका थिए । सोही कारण उनलाई जननेता मान्ने गरिएको थियो ।
पछिल्लो समय मदन भण्डारी सँग जोडेर एक दर्जनभन्दा बढी संघ संस्था सञ्चालनमा छन् । मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन् । ती संघ संस्थाहरुमा नेकपाका नेता कार्याकर्ताहरु आवद्ध छन् ।